एजेन्सी । पाकिस्तानमा चिनियाँ इञ्जिनियरको टोलीमाथि भएको हमलामा भारतीय संलग्नता आशंका गरिएको छ । गत आइतबार बलोचिस्तानस्थित बन्दगाह शहर ग्वादरमा चीनका इञ्जिनियरमाथि आतंकवादी हमला भएको थियो ।
हमला बलोच पृथकतावादी समूहले गरेको हो । हमलामा उल्टै दुई बलोच उग्रवादी मारिएका छन् । यो समूह प्रयोग गरी पाकिस्तान टुक्र्याउन भारतले सक्दो प्रयास गरिरहेको छ ।
पाकिस्तानस्थित चिनियाँ दूतावासले सो घटनालाई चरमपन्थी हमला भनेको छ । भविष्यमा यस्ता घटना नदोहोरिनेगरी आवश्यक कदम चाल्न पनि पाकिस्तानलाई आग्रह गरेको छ ।
पाकिस्तानका सुरक्षा अधिकारीहरूले ग्वादमा भएको हमलालाई चरमपन्थी हमलाको संज्ञा दिएका छन् । सो हमलामा दुई चरमपन्थी मारिएको जानकारी पनि गराएका छन् । भारतसमर्थित बलूच लिबरेशन आर्मी (बीएलए) ले एक विज्ञप्ति जारी गर्दै सो हमलाको जिम्मेवारी लिइसकेको छ ।
ग्वादर बन्दरगाहमा हायलकायल दिल्ली
पाकिस्तानको ग्वादर पोर्टलाई चीनको शिनजियाङ प्रान्तसँग जोड्नेगरी चीनले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ) अन्तर्गत काम गरिरहेको छ । चीनका राष्ट्रपति सी चिनफिङले नै यो परियोजना कार्यान्वयनमा पहल गरिरहेका छन् ।
ग्वादर बन्दरगाह चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) को सबैभन्दा महत्वपूर्ण हिस्सा हो । किनकी, चीनले बीआरआइका माध्यमबाट पाकिस्तानलाई पूर्वाधार परियोजना निर्माण निम्ति भारी ऋण दिएको र त्यसको साँवाब्याज भुक्तानीबापत ग्वादर बन्दगाह दशकौंसम्म आफूले सञ्चालन गर्ने सम्झौता गरेको छ । यसलाई चीनले संसारमा फैलाइरहेको नयाँ आर्थिक उपनिवेश अर्थात् ऋणपासो (डेब्ट ट्रयाप) पनि भन्ने गरिएको छ । श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पनि बेइजिङ र कोलोम्बोबीच यस्तै समझदारीमा काम भइरहेको छ ।
सोही समझदारीअनुसार चीनले पाकिस्तानस्थित बलुचिस्तानको ग्वादर बन्दरगाह विकास र विस्तार गरिरहेको छ । बन्दरगाह भएको क्षेत्रमा पाकिस्तानलाई विभाजन गरेर छुट्टै बलुचिस्तान देश बनाउने भन्दै बलुच पृथकतावादीले फौजी गतिविधि गर्ने गरेका छन् । यो क्षेत्रमा पहिले पनि चीनका विशेषज्ञ र कामदारमाथि हमला भएको थियो ।
पाकिस्तानलाई चीनको उपस्थिति बाक्लिएसँगै दुबै देशसँग परम्परागत दुश्मनी मोलिरहेको भारत डराइरहेको छ । उसले पाकिस्तान र श्रीलंकामा चीनले बीआरआइमार्फत गरेको लगानी ऋणपासो भएको भन्ने पश्चिमा भाष्यलाई नै जोडतोडले प्रचार गर्ने गरेको छ । बलोच पृथकतावादीहरूले पनि पाकिस्तानमा आर्थिक करिडोरको नाममा चीनले प्राकृतिक संशाधन दोहन गरिरहेको बताउने गरेको छ ।
बलूचिस्तानमा एसियाकै सबैभन्दा ठूलो सुन, तामा र ग्यास भण्डार रहेको अनुमान गरिन्छ । तर, भारत प्रायोजित बलुच विद्रोहका कारण यो क्षेत्र निकै पिछडिएको छ ।
ग्वादर बन्दरगाहको महत्व
अरब सागर हुँदै तेल आपूर्ति गर्ने सबैभन्दा महत्वपूर्ण बन्दगाह हो ग्वादर । भारतीय विश्लेषकहरूले पनि यो बन्दरगाहलाई निकै महत्वका साथ हेर्ने गरेका छन् । बीबीसीसँग जेएनयू इन्टरनेशनल स्टडीजका प्राध्यापक स्वर्ण सिंहले भनेका छन्, चीनलाई मध्य एसियाबाट निकै धेरै ऊर्जा स्रोत आवश्यक छ । सिंगापुर नजिकै रहेको मलाका जलक्षेत्रबाट भविष्यमा ऊर्जाका स्रोत लैजान समस्या पर्ने ठानेर चीनले अलग–अलग बाटो खोजिरहेको छ । पाकिस्तानको ग्वादर बन्दरगाह तिनैमध्ये एक हो ।
सन् १९९० देखि नै चीनले ग्वादर बन्दरगाहसम्म पहुँच विस्तार थालेको थियो । सो बेलादेखि नै भारतले पाकिस्तानमा चीनको उपस्थिति कमजोर पार्न बलुच विद्रोहीलाई उचालेको विभिन्न अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख छ । पाकिस्तानको परम्परागत युद्ध सहयोगी अमेरिकाले पनि चीनको उपस्थितिलाई लिएर इस्लामावादलाई चेतावनी दिने गरेको थियो । पश्चिमा मिडियाहरूले इस्लामावादलाई बेइजिङसँग नजोडिकन अफगान मामिलामा पाकिस्तानले डबल क्रस गरिरहेको आरोप लगाउनेगरी सामग्रीहरू सार्वजनिक गरेका थिए ।
भारतीय मिडियाहरूले त बलोच पृथकतावादी आन्दोलनलाई त्यहाँका नेताहरू भन्दा पनि उग्र बनेर बढाइचढाइ गर्ने गरेका छन् । बलुचिस्तानमा चीनले गरेको लगानीप्रति भारतले आपत्ति जनाउने गरेको छ । उसले बलुचिस्तान र ग्वादरकै भविष्यलाई लिएर तथाकथित रूपमा चिन्ता समेत गर्ने गर्छ ।
बीबीसी उर्दुका अनुसार चीन पाकिस्तान आर्थिक कोरिडोर र त्यसको महत्वपूर्ण हिस्सा ग्वादर बन्दरगाह निर्माण पछि चीनलाई मात्र नभइ पाकिस्तानलाई पनि धेरै फाइदा हुनेछ । त्यसैले पाकिस्तान यो परियोजना सम्पन्न गर्न निकै आतुर छ ।
पाकिस्तानसँग वर्तमानमा राम्रो रेलसेवा छैन । अस्पताल, विद्यालय र स्वास्थ्य केन्द्रको सेवा पनि विश्वस्तरमा प्रतिष्पर्धायोग्य छैन । पछिल्लो ४० वर्षमा पाकिस्तानमा परिवर्तनकारी विकास निम्ति निकै कम लगानी भएको छ । अहिले पाकिस्तानसँग एउटा मात्रै कराँची बन्दरगाह छ । यो पनि बेलायती उपनिवेशका बेला बनाइएको १०० वर्षभन्दा पुरानो बन्दरगाह हो ।
अहिले चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत जस्ता परियोजना बनिरहेका छन्, पाकिस्तान सरकारकै लगानीमा ती परियोजना निर्माण काबु बाहिरको कल्पना हो । तर, चीनले यी परियोजनामा धमाधम करोडौं डलर लगानी गरिरहेको छ ।
भारतलाई घेर्ने प्रयास हो त ?
ग्वादर बन्दरगाह पाकिस्तानको तेस्रो महत्वपूर्ण बन्दरगाह हो । यो बन्दरगाहले तीनै क्षेत्र अर्थात एसिया, दक्षिण एसिया र मध्य एसियालाई जोड्छ । यसले भारतलाई भन्दा पाकिस्तानलाई बढी रणनीतिक लाभ दिलाउनेछ । रणनीतिक महत्वको अर्को तथ्य के हो भने पाकिस्तानका अन्य बन्दगाहभन्दा ग्वादर बन्दरगाह भारतीय पहुँचबाट निकै पर छ ।
ग्वादर बन्दरगाहले रणनीतिक रूपमा भारतलाई घेर्न चीनलाई सहयोग पुर्याउने दिल्लीको आँकलन छ । यसको भौगोलिक अवस्थिति पनि सामरिक रूपमा भारतलाई घेर्न निकै उपयुक्त छ । अहिले भारतले ग्वादरभन्दा १७० किलोमिटर पर ईरानको चाबहार बन्दरगाह विकास गरिरहेको छ । भारतले चाबहार बन्दरगाह बनाएर ग्वादरमा चीनको उपस्थितिलाई जवाफ दिएको रूपमा अथ्र्याउन प्रयास गरिरहेको छ ।
बलुच विद्रोहीको दिल्ली नेक्सस
जगजाहेर छ कि चीनले पाकिस्तानको ग्वादरमा भव्य बन्दरगाह बनाउने योजना शीतयुद्धकालमै बनाएको थियो । अंग्रेजको उपनिवेशबाट आजाद भएका भारत–पाकिस्तान त्यति बेलासम्म एक अर्कोका लागि कट्टर दुश्मन बनिसकेका थिए ।
बेलायती उपनिवेशबाट मुक्त हुनासाथ यी दुई देश जम्मु काश्मिर मामिलालाई लिएर सन् १९४७ मा युद्धमा होमिएका थिए । सन् १९६५ मा पनि पाकिस्तानले अप्रेशन जिब्राल्टर चलाउँदै भारतविरुद्ध युद्ध छेडेको थिया । भारत–पाकिस्तान दोस्रो युद्धभन्दा अघि नै सन् १९६२ मा चीनले अक्साइ चीन र अरूणाञ्चल प्रदेशमा भारतलाई हराभरा खेलाएको थियो ।
यसरी, उपनिवेशबाट मुक्त भएको डेढ दशक नबित्दै भारतले आफ्ना दुई ठूला छिमेकीसँग दुश्मनीपूर्ण सम्बन्ध कायम गरेको थियो । अझ, चीनले पाकिस्तानबाट समेत घेर्ने जोखिम देखेपछि सबैभन्दा पहिले इस्लामावादलाई कमजोर बनाउन भारतले बलुचिस्तान विद्रोह प्लान्ट गर्यो । सन् १९७० को शुरुमै त्यहाँ बलुचिस्तान आर्मी अस्तित्वमा आएको थियो ।
पाकिस्तानले बलुचिस्तान विद्रोहमा भारतले सघाइरहेको आरोप खुलेरै लगाइरहेको छ । सन् २००६ मा बलुचिस्तान पृथकतावादी आन्दोलनका नेता मारिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू प्रधानमन्त्री हुनुभन्दा आधा दशक अघिको घटना सम्झाउँदै बलुचिस्तानमा मानवअधिकारको मामिलालाई लिएर टिप्पणी गरेका थिए ।
सन् २०१६ अगष्ट १५ मा भारतीय स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै बलोच मामिलामा मोदीले खुला समर्थन गरेका थिए । उनले भनेका थिए, ‘केही दिनयता बलुचिस्तान, गिलगिट र पाकिस्तान नियन्त्रित कास्मिरका मानिस र नागरिकले मलाई धन्यवाद दिएका छन् । देख्दै नदेखेका मानिसले हिन्दुस्तानका प्रधानमन्त्रीप्रति नमन प्रकट गरेका छन् । धन्यवाद दिने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
बलुचिस्तानको निर्वासित सरकारकी प्रधानमन्त्री भनिएकी डा. नायला कादरी दुई साता अघि मात्रै भारतको हरिद्वार पुगेकी थिइन् । उनले बलुचिस्तानको आजादी (स्वतन्त्रता) का लागि भारतसँग खुलेआम सहयोग मागेकी थिइन् । बलोच पृथकतावादी नेतृ भारत पुगेको केही दिनभित्रै पाकिस्तानमा चिनियाँ इञ्जिनियरको समूहमाथि बलोच उग्रवादीहरूले आक्रमण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस