aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ । 

“अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ”, प्रजिअ केसीले भने, “उपभोक्त सहकारीलाई भोलीका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ । उहाँहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो ।”

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए । 

प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले चारपाङ्ग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस