aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेश जाँदैमा सबै कुरा प्राप्त गर्न सकिँदैन, स्वदेशमै अवसर खोज्नुपर्छः  अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
विदेश जाँदैमा सबै कुरा प्राप्त गर्न सकिँदैन, स्वदेशमै अवसर खोज्नुपर्छः  अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नु पर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्ने बताए । उनले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी रहेको उनको तर्क छ ।  

कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘हामीकहाँ विकास हुनबाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ ।’

अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, करछुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरुमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबीहुँदै गएको छ, जुन चिन्ताको विषय रहेको उनले बताए । 

उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको बताए ।   

चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस