aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

किन सस्तियो हिराका गहना ? के थियो यसबारे छरिएको भ्रम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
किन सस्तियो हिराका गहना ? के थियो यसबारे छरिएको भ्रम ?

अहिले हामी नेपालमा समेत मध्यम वर्गमा नपुग्दै हिराका गहना लगाएका प्रशस्तै मानिसहरू भेट्छौँ । विश्वमै अति महँगो मानिने हिराजडित गहना यसरी सर्वसुलभ हुनुको पछाडि विशेष कारण छ । त्यो कारणमा प्रवेश गर्नु अघि एउटा घटनाको चर्चा गरौँ :

सन् २०१९को जनवरी एक बिहान बेलायती राजकुमार ह्यारी कि पत्नी तथा चर्चित नायिका मेघन मार्कल लन्डनको सडकमा देखा परिन्। उनले स्मार्ट कोट र हिल लगाएकी थिइन् । तर यो उनको कपडा थिएन जसले संसारको ध्यान खिच्यो। बरु त्यो दिनको उनको तस्बिरमा देखिएको प्रयोगशालामा निर्मित हिराले इम्बेडेड चम्किलो झुम्काको एक जोडी थियो, जसको विश्वव्यापी चर्चा भयो ।

सो गहना निर्माता कम्पनी किमाईका सह-संस्थापक सिड्नी न्युहसका अनुसार मार्कलको कानमा सुशोभित हिरा बनाउन जम्मा पाँच दिन मात्रै लागेको थियो । मेघनले मानव निर्मित हिराको गहना अन्य कुनै कारणले लगाएकी होइनन्, बरु अहिलेको पुस्तामा देखिएको मानव निर्मित हिरा प्रयोग गर्ने र प्राकृतिक हिराको उत्खननबाट मानव समुदायको भविष्यमा पार्ने प्रभाव काम गर्ने प्रयासमा उनी पनि सहभागी बनेकी हुन् ।

हुन पनि पछिल्ला वर्षहरूमा हिराको पुस्तैनी व्यापार गर्दै आएका व्यापारीले समेत मानव निर्मित हिरा नै उत्पादन गर्ने र परम्परागत प्राकृतिक हिराको व्यापारलाई बिस्तारै बन्द गर्ने सोच बनाएको देखिन्छ । अहिले हिराका प्रमुख खरिदकर्ताका रूपमा देखिएका नव धनाढ्यहरू र विवाहको औँठीमा हिरा रुचाउने नयाँ पुस्ता दुवैको रोजाइमा मानव निर्मित कृत्रिम हिरा नै पर्ने गरेको छ । यसको अर्को कारण हो, यो सस्तो मूल्यमा उपलब्ध हुनु ।

के हो कृत्रिम हिरा ?

प्रयोगशालामा बनाइएको हिरा त्यस्तो हिरा हो : जुन रासायनिक, भौतिक र अप्टिकल रूपमा जमिनबाट उत्खनन गरिएको हिरासँग मिल्दोजुल्दो हुन्छ। प्राकृतिक रूपमा हुने हिराहरू जमिनमुनि करिब १०० माइल तल अत्यधिक दबाब र अत्याधिक तापमा बनेका हुन्छन्। यी हिराहरू धेरैजसो १ अर्बदेखि ३ अर्ब वर्ष पहिले बनेका हुन् जुनबेला पृथ्वी आजभन्दा धेरै नै तातो थियो।

प्रयोगशालामा बनाइएका हिराहरू पनि चरम दबाब र तातो प्रयोग गरेर मेसिनभित्र बनाइएका हुन्छन् । प्रयोगशालामा हिरा बनाउने दुई तरिकाहरू छन्। यी दुबैमा तरिकामा अर्को हिराको ‘बीउ’ आवश्यक हुन्छ। पहिलो प्रयोगशाला विधिमा उच्च दबाब र उच्च तापक्रम प्रयोग गरेर हिरा बनाइन्छ। यो विधिमा बीउलाई केही शुद्ध ग्रेफाइट कार्बनको बीचमा राखिन्छ र लगभग १५ सय डिग्री सेन्टिग्रेडको तापक्रममा लगभग १५ लाख मिलियन पाउन्ड प्रति वर्ग इन्चमा पर्ने गरी चेम्बरमा दबाब दिइन्छ ।

हालसालै पत्ता लागेको दोस्रो तरिकामा कार्बनयुक्त ग्यासले भरिएको सिल गरिएको कक्षमा बीउ हिरा राखेर लगभग ८०० डिग्री सेन्टिग्रेडसम्म तताइन्छ । यो अवस्थामा सो ग्यासका कणहरू बीउमा गएर टाँसिन थाल्छन् । यसरी हिरा कार्बन कण बढ्दै बढ्दै गएर ठूलो हिरा बन्छ।

ल्याबमा हिरा बनाउने प्रविधिले हालका वर्षहरूमा महत्त्वपूर्ण प्रगति गरेको छ । जसले कम्पनीहरूलाई उच्च गुणस्तरको हिराहरू छिटो र सस्तोमा बढाउन सक्ने बनाएको छ। यसको मतलब प्रयोगशाला हिरा र खनिज हिरा कम्पनीहरू बीच प्रतिस्पर्धा बढ्दो छ । एन्टवर्प वर्ल्ड डायमन्ड सेन्टर (एडब्लुडीसी)द्वारा सार्वजनिक एक रिपोर्ट अनुसार खनिज हिराको उत्खनन खर्च सन् २००८ मा प्रति क्यारेट ४००० डलरको तुलनामा प्रयोगशालामा उत्पादित हिराको उत्पादन लागत प्रति क्यारेट ३००देखि ५०० डलर मात्र हुने गरेको छ ।

प्रयोगशालामा उत्पादन गरिएको हिरा उद्योगको द्रुत गतिमा विकास युवा हिरा -क्रेताहरू मूल्य, पारदर्शिता र वातावरणीय कारणहरूले गर्दा तिनीहरूतर्फ आकर्षित भएकाले हो । एडब्लुडीसीको रिपोर्ट अनुसार बजारको यो हिस्सा वार्षिक रूपमा १५ प्रतिशतदेखि २० प्रतिशतको बीचमा बढ्दै गएको छ । ज्वेलर्सहरूले प्रयोगशाला हिराहरू बेच्न थालेपछि र थप प्रयोगशालाहरू सुरु भएकाले हाल जारी वृद्धि कायम रहने अपेक्षा गरिएको छ ।

वातावरणीय कारणहरू

प्रयोगशालामा निर्मित हिरा दोष मुक्त छन् भन्ने दाबी छ । तर, प्रयोगशालामा हिरा उत्पादन गर्न आवश्यक ऊर्जाको विषय भने महत्त्वपूर्ण छ। डायमन्ड प्रोड्युसर एसोसिएसनद्वारा जारी गरिएको यस विषयमा एउटा प्रतिवेदनमा उल्लेख भए अनुसार प्राकृतिक हिराको उत्सर्जनमा हरित गृह ग्यास उत्सर्जन प्रयोगशालामा हिरा बनाउँदा सिर्जना गरिएकोभन्दा तीन गुणा कम हुन्छ। यो ध्यान दिन लायक छ कि डायमन्ड प्रोड्युसर एसोसिएसनले डे बियर्स, अल्रोसा र रियो टिन्टो लगायत विश्वका सातवटा ठूला हिरा खानीहरूको प्रतिनिधित्व गर्दछ।

यद्यपि, केही प्रयोगशाला हिरा कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकाको सङ्घीय व्यापार आयोगले यी दाबीहरूलाई पुष्टि गर्ने प्रमाण बिना ‘पर्यावरण-मैत्री’को रूपमा प्रस्तुत गर्दा होसियार हुन चेतावनी दिएको छ। अडा डायमन्ड्स र लियोनार्डो डिक्याप्रियोले अमेरिकामा स्थापना गरेको डायमन्ड फाउन्ड्री लगायतका कम्पनीहरू तीमध्ये थिए । यद्यपि, पछिल्लोले तेस्रो पक्ष प्राकृतिक पुँजी साझेदारहरूद्वारा कार्बन न्यूट्रलको रूपमा प्रमाणित भएको र नवीकरणीय ऊर्जा मात्र प्रयोग गर्ने गरेको बताउँछ।

डायमन्ड फाउन्ड्रीद्वारा प्रकाशित तथ्याङ्कहरू अनुसार खनिज हिराको कुल वातावरणीय प्रभाव प्रयोगशाला हिराभन्दा धेरै उच्च छ। ‘पृथ्वीबाट एउटा भूमिगत हिरा निकाल्न प्रयोगशालामा हिरा बनाउनभन्दा बढी ऊर्जा चाहिन्छ... खानीमा प्रयोग हुने ऊर्जा सामान्यतया डिजेलबाट सिर्जित ऊर्जा हो भने प्रयोगशालामा प्रयोग हुने ऊर्जा नवीकरणीय ऊर्जा हो।’ सो कम्पनीको वेबसाइटमा एक ब्लग पोस्टमा लेखिएको छ ।

हिराको प्रत्येक एक क्यारेटको लागि अनुमानित २५० टन पृथ्वीको माटो यताउता सार्नुपर्ने (खन्नुपर्ने) हुन्छ। केही खानिहरू अहिले यति ठूला छन् कि तिनीहरू नासाको टेरा उपग्रह प्रयोग गरेर अन्तरिक्षबाट देख्न सकिन्छ। परामर्श फर्म फर्स्ट एन्ड सुलिवानको सन् २०१४को रिपोर्टले पनि देखाएको छ कि हिरा उत्खनन गर्न प्रयोगशालामा लाग्नेभन्दा प्रति क्यारेट दोब्बर ऊर्जा चाहिन्छ। यो अनुमान गरिएको छ कि प्रत्येक एक क्यारेट खनिज हिराको लागी ५७ किलोग्राम कार्बन वायुमण्डलमा छोडिन्छ । तर, दाबी गरिएको छ कि प्रयोगशालामा उब्जाइएको हिराले केही ग्रामभन्दा बढी मात्र कार्बन बाहिर निकाल्छ ।

हिराबारे छरिएको भ्रम

जब आफ्नो व्यापारमा कमी आयो; त्यो बेला हिरा व्यापारीहरूले हिराका बारेमा व्यापक प्रचार गरे । खानीमा आधारित हिरा उद्योगले समस्याबाट बाहिर निस्कन गरेको विज्ञापनका कारण आम मानिसमा हिरा एक दुर्लभ र सीमित बस्तु भएकोले यसको मूल्य सँधै उच्च हुन्छ भन्ने भ्रम छ । वास्तवमा त्यसो होइन । बीबीसीले आफ्नो एक रिपोर्टमा लेखेको छ : हामीमध्ये धेरैलाई हिरा मन पर्ने कारण सन् १९४७ मा डी बियर्स नामक हिराको व्यापार गर्ने कम्पनीद्वारा सुरु गरिएको एक चतुर विज्ञापन अभियानबाट उत्पन्न भएको भ्रम हो।

यो कम्पनीले सदाको लागि संस्कृति परिवर्तन गर्‍यो । जब यसले हामीलाई ‘हिराको सधैँभरि उच्च मूल्य हुन्छ’ भनेर विश्वस्त गराएको थियो । हिरा दुर्लभ छ भन्ने विचार पनि सावधानीपूर्वक तयार गरिएको मार्केटिङ भ्रम हो। अब हिरा दुर्लभ होइन भन्ने प्रमाणित नै भइसकेको छ ।

हिराको अत्यधिक आपूर्तिले भर्खरै डी बियर्सले आफ्नो अनुबन्धित खरिदारहरूको सङ्ख्या घटाउने घोषणा नै गरिसकेको छ। कम्पनीले यो वर्ष समाप्त हुँदासम्ममा आफ्ना रफ डायमन्ड ग्राहकहरूको सम्झौता समीक्षा गर्ने पुष्टि समेत गरेको छ।

प्रयोगशाला निर्मित हिराहरूको लोकप्रियता बढ्दै जाँदा सामान्य पुनः ब्रान्डिङ प्रयासले खनिज हिराको लागि काम गरिरहेको देखिँदैन। उद्योगले विश्वव्यापी रूपमा अत्यधिक आपूर्ति र मागमा आएको गिरावटको समस्याको सामना गरिरहेको छ । विशेषगरी चीनमा यस्तो देखिएको हो, जुन विश्वको दोस्रो ठूलो हिरा बजार हो ।

प्रतिक्रिया दिनुहोस