उद्यमशीलता कहाँबाट आउँछ, त्यसलाई प्रोत्साहन कसले गर्छ, त्यो उद्यमशीलताका आधारभूत तत्त्वहरू के के हुन् ? युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौँ र लाखौँको सङ्ख्यामा बिदेसिएका युवाहरुलाई कसरी रोक्ने भन्ने विषय नै मुख्य रहेको छ ।
उद्यमशीलता आफूभित्रबाट आउँछ । सबैमा हुँदैन यो कुरा । उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भर पर्छ । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्त्वपूर्ण हुन्छ । उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन सकेका छैनन ।
उद्यमशीलता आयात गरेर पनि हुँदैन, सिकेर पनि हुँदैन, पढेर पनि हुँदैन । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्नेगरि नेतृत्व गर्न सक्ने क्षमता आफूभित्रबाट विकास गर्ने हो । उद्यमशीलताको कुरा गर्दा पहिले आफूबाट नै शुरु गर्नु पर्छ ।
उद्यमशीलतामा हामीले के सिप सिक्यौँ भन्ने नै महत्त्वपूर्ण हुन्छ । परम्परागतरुपमा हामी कस्तो प्रणालीबाट आएका छौँ भने हाम्रा बाउबाजेहरु परम्परागत खेती गर्ने कि त नोकरी गर्ने खालको छौँ । पछिल्लो समय उद्यमशीलतामा रैथाने प्रकारले अगाडी बढेका कम र बाहिरको सिको गरेर अगाडी बढ्नेहरू धेरै छन् ।
अब हामीले हाम्रै क्षमताले हाम्रै व्यवसायहरू शुरु गर्न सक्नु पर्छ । यसबाट सुरुवातमा हामीले भौतिक आवश्यकताहरू पुरा गर्न सकौला । त्यसपछि क्रमशः सामाजिक आवश्यकताहरू पुरा गर्रौला, त्यसपछि हामीभित्र एउटा स्वाभिमान हुन्छ त्यसपछि हामीले समाजमा केही गरेर देखाऊ भन्ने चरणमा जानु पर्छ ।
सुरुमा व्यवसाय गर्दा हातमुख नै जोड्ने हो । सानो व्यवसायबाट बिस्तारै ठूलो हुँदै जाने हो । यसरी शुरु गरियो भने अरूभन्दा पृथक् देखिन सकिन्छ । समाजमा व्यवसायमा नेतृत्व दिन सक्ने हुन सकिन्छ । नयाँ प्रकारले कुनै व्यवसाय गर्न सिक्न सिकाउन सक्ने हुन सकिन्छ । यसरी नै व्यवसाय गर्न सुरु गर्ने हो ।
कक्षा १२ को रिजल्टपछि धेरै विद्यार्थीहरू जब खोज्ने र पाइयो भने गर्ने पाइएन भने विदेश तिर दौडिने गरेका छन् । यस वर्षको नतिजा हेर्ने हो भने आधा विद्यार्थी फेल भएका छन् । यो जमातलाई तुरुन्तै स्किलसेटसंग जोड्न अर्थमन्त्रीले जोड दिनु पर्छ ।
यसरी सिप सिकाउनका लागि सरकारले जोडेमा युवाहरू बिदेसिने क्रम रोकी सक्छ । सिप सिकेपछि युवाहरू आफै उद्योग व्यवसाय गर्न सुरु गर्छन् । व्यवसाय कसरी सुरु गर्ने, के मा राम्रो हुन्छ भन्ने कुराहरूमा जोड दिनु पर्छ । हामीले उद्यमशीलताका लागि त्यति धेरै सहुलियतपूर्ण कर्जा लगायत सेवाहरू सुरु गरेका छौँ । त्यसको लाभ लिन सकिएको छैन ।
म आफै अर्थमन्त्री हुँदा शुरु गराएको कार्यक्रम थियो, ओजेटि । यसलाई पनि अगाडी बढाउनु पर्छ । यदि ओजेटिमा उद्योगहरूले चलाउन चाहनु हुन्छ भने २५ प्रतिशत तीन महिनाको ओजेटिको रकम सरकारले व्यहोर्छ भनेर बजेटमा नै व्यवस्था गरिएको थियो । बाँकी उद्योगले व्यहोर्ने भनिएको थियो । त्यसपछि त्यहाँ रहेकाले व्यवसाय सुरु गर्न सक्ने भयो भने काममा लगाउनु र होइन भने सरकारले कुनै बाटो बनाउँछ भनिएको थियो ।
उद्यमशीलतामा विशेषगरि वित्तीय कुराहरू सिकाउनु पर्ने आवश्यकता छ । ऋण दिने यतिका संस्था हुनुहुन्छ । लिएको ऋणको बीमा गर्ने व्यवस्था गरिएको छ । बीमाको ७० प्रतिशत प्रिमियम पनि सरकारले व्यहोर्ने भनेको छ अनि उद्यमीलाई स्वास्थ्य बीमा समेत गर्न सहुलियत दिइएको छ । यति धेरै स्किमहरू छन् ।
तर, यी स्किमहरूबारे हामीले राम्रोसँग जानकारी नै पाएका छैनौँ । जसले जानकारी पाएको छ त्यसले लगेर राम्रोसँग काम नै गरेन । यस्तो हुनु पनि ठिक होइन । सबै कुरा सरकारले ठिक गर्दिन्छ भन्ने पनि होइन । सरकारले अनुकूल वातावरण बनाइदिने हो ।
केही व्यवसायहरू अत्यन्तै अनौपचारिक ढङ्गले चलेका छन् । हामी पनि पारदर्शिरुपमा, औपचारिकरुपमा संस्था दर्ता गरेर कम्पनी करण गरेर व्यवसायमा जानु पर्छ । पहिले आफू पारदर्शी हुनु पर्छ र त्यसपछि सरकारलाई पनि पारदर्शी हुन आग्रह गर्नु पर्छ । आफू अपारदर्शी भएर सरकारलाई मात्रै पारदर्शी हुनु भन्दा एकपक्षीय हुन्छ । यसमा हामी सबै मिलेर अगाडी बढ्नु पर्छ ।
उद्यमशीलताका कुरा गरिरहँदा तीन चार कुरामा ध्यान दिनु पर्छ । पहिलो कुरा भनेको सिप कसरी दिने, जोखिम लिन सक्ने कसरी बनाउने, त्यो जोखिमको पनि कुनै बीमा गर्न सकिन्छ कुनैको गर्न सकिँदैन त्यसबारे सिकाउनु पर्छ । सम्बन्धी कानुनहरू सरकारले बनाइदिनु पर्यो र सरकारले बनाइदिएको अनुकूल वातावरणमा हामीले काम गर्नु पर्छ ।
प्रविधि सरकारले दिनु पर्छ । प्रविधिमा सबैको पहुँच पुग्दैन । यसमा सरकारले काम गर्नु पर्छ । बजार सुरक्षित गरिदिने कुरामा सरकारले ध्यान दिनु पर्छ । खुल्ला सिमानाका कारण साना तथा मझौला व्यवसायीहरू जहिले पनि जोखिममा पर्छन् । आन्तरिक उत्पादनहरूलाई संरक्षण दिनु पर्छ । सरकारले बजेटमा पनि भनेको छ त्यसलाई कार्यान्वयन गर्नु पर्छ । र, मात्रै उद्यमशीलता विकास हुन्छ ।
(पूर्व अर्थमन्त्री डा.खतिवडाले काडमाडौं आयोजना गरिएको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’ कार्यक्रममा राखेको भनाईको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस