aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

क्वालालम्पुर । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भनेका छन्, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।” मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ । एक्स ट्वीटरका एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ । भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो । एएफपी

प्रतिक्रिया दिनुहोस