
काठमाडौं । आइतबारदेखि हिन्दूहरुको महान चाड दशैं शुरु भएको छ । नेपालीले दशैंलाई धुमधामका साथ मनाउने गर्दछन् । यो बेला सामान्य अवस्थाको तुलनामा अरु बेलामा भन्दा धेरै मासुजन्य परिकार बन्ने गर्छ । मासुको परिकार तयार गर्दा सचेत भइएन भने समस्या निम्तिन सक्छ ।
दशैंको मुख्य विशेषताका रुपमा मासु परिकारलाई पनि लिइन्छ । दशैंमा मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ । मासुमा अत्याधिक रुपमा पौष्टिक तत्व पाइन्छ । मासुमा पर्याप्त मात्रामा प्रोटिन, जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्व पाइन्छ । जसले मानिसको शरीरलाई शक्ति प्रदान गर्न मद्दत गर्ने गर्दछ । तर, मात्रा मिलाएर खान जानिएन वा दशैंमा पनि नखाए कहिले खाने भनेर धेरै खाइयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ ।
मासु विशेषज्ञहरूले गरेको अध्ययन अनुसार दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने देखाएको छ । यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ ।
अनुसन्धान अनुसार दैनिक धेरै मासु खाँदा हाडजोर्नी सम्बन्धी रोग, महिलामा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैको शरीरमा कोलस्ट्रोलको मात्रा पनि बढ्न जान्छ । यही कारण इच्छाएको परिकार खानबाट सधैंका लागि वञ्चित हुनुपर्ने अवस्था निम्तिन सक्छ ।
त्यस्तै मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यसअघि सार्वजनिक भइसकेका छन् । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोग सर्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसका कारण दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्ने गरेको छ । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैंको समयमा अस्पताल भर्ना हुन नपरोस् भन्नका लागि मासु खाँदा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।
मासु र अन्य परिकारलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाना प्वाइजनिक हुन पुग्छ । जसले गर्दा मासु तथा खाना खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन थाल्छन् । यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर जचाई हाल्नुपर्छ ।
स्वस्थ्य मासु कसरी छान्ने ?
मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, अन्य बेलाको मासुकोभन्दा फरक किसिमको गन्ध आएको भए त्यो पनि अयोग्य हुन्छ ।
मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनुपर्छ । मासु काट्दा र समात्दा तन्किनु हुँदैन । मासु किन्ने पसल, मासु काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका सफा भए नभएको हेर्नुपर्छ ।
मासु भण्डारण गर्ने तरीका
मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा नराख्ने । सामान्यतया ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । मासुलाई फ्रिजमा छोपेर मात्र राख्नुपर्छ । काँचो मासु र पाकेको मासु एकै ठाउँमा कहिल्यै नराख्ने ।
मासुबाट शरीरमा रोग सर्ने कारण
बत्ती नभएका बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा मासु काट्ने स्थान, काट्ने हतियार सफा नभएमा सडे गलेको मासु सेवन गरेमा मासुको परिकार तयार गर्ने व्यक्ति स्वस्थ नभएमा, राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा रसायनयुक्त मासुको प्रयोगबारे सचेत नभएमा
मासु खाँदा ध्यान दिनुपर्ने कुरा
फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो । बासी तथा खुला स्थानमा राखेको मासु नखाने । काँचो मासुको परिकार कुनै पनि हालतमा नखाने । पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो ।
राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने । विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने ।बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने ।
दशैंमा मासु खाँदा के कुरामा विचार गर्ने ?
घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने । विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने । सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने ।
मासुको दैनिक प्रयोग नगर्ने । मासु खानेबित्तिकै आइसक्रिम, दही तथा क्रिमका परिकार नखाने । दैनिक व्यायाम गर्ने । आफू स्वस्थ नभएको महसूस भएमा माछा मासु नखाने । सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने ।
प्रतिक्रिया दिनुहोस