aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बजेट आकार सवा २ खर्ब घटाउँदा पनि अर्थमन्त्रीलाई साउनमै धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
बजेट आकार सवा २ खर्ब घटाउँदा पनि अर्थमन्त्रीलाई साउनमै धक्का

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षका लागि प्रक्षेपितभन्दा सवा २ खर्ब रुपैयाँ घटाएर बजेट घोषणा गरे । चालू बजेटको आकार मध्यमकालीन खर्च संरचना (एमटीईएफ) २०७८/७९–२०८०/८१ मा प्रक्षेपण गरिएभन्दा २ खर्ब ३६ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ र गत आर्थिक वर्षको बजेटभन्दा ४२ अर्ब रुपैयाँले कम हो । 

आयात प्रतिबन्ध र आर्थिक मन्दी लगायत कारण गत आर्थिक वर्षमा राजस्व संकलन खुम्चिएपछि अर्थमन्त्रीले अनुमानित आकार नै घटाएर चालू आर्थिक वर्षको बजेट घोषणा गरेका थिए । राष्ट्रिय योजना आयोगले शुरुमा १६ खर्ब ८८ अर्ब र दोस्रोपटक १८ खर्ब रुपैयाँ हाराहारीको सिलिङ अर्थ मन्त्रालयमा पठाएको थियो । तर, यो आकारको बजेट घोषणा गर्न स्रोत अपुग हुने देखेपछि अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।


 

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले गरेको आम्दानी र खर्च ।

राजस्व संकलनलाई पहिलो प्राथमिकता दिँदै खर्च बढोत्तरी गर्न खोजिरहेका अर्थमन्त्री महतले बजेट कार्यान्वयन निम्ति ८१ बूँदे मार्गदर्शन पनि जारी गरे । साउन ४ गते जारी गरिएको सो मार्गदर्शनमा स्रोतको अधिकतम उपयोग, खर्च मितव्ययीतादेखि विकास निर्माणका काम समयसीमाभित्रै गर्ने उल्लेख छ ।

तर, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारलाई भएको आम्दानी र गरिएको खर्च अघिल्लो समान अवधिको भन्दा पनि कम छ ।
गत आर्थिक वर्षको पहिलो महिना साउनमा ८० अर्ब ८२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्षको पहिलो महिनामा सरकारलाई ९२ अर्ब १२ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी भएको थियो ।

तर, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले गत वर्षभन्दा पनि कम ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँमात्रै राजस्व संकलन गर्न सकेको छ । यो परिमाण गत साउनमा भन्दा झण्डै २ अर्ब रुपैयाँ कम हो । हिजोदेखि सकिएको साउन महिनामा सरकारले गरेको कूल आम्दानी ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ पनि गत आर्थिक वर्षको पहिलो महिनामा भएको आम्दानीभन्दा ३ अर्ब ९८ करोड रुपैयाँले कम हो ।

पूँजीगत खर्चतर्फ पनि उस्तै

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा गरेको पूँजीगत खर्च पनि गत आर्थिक वर्षको सोही अवधिमा गरेको भन्दा कम छ । सरकारले वितरणमुखी बजेटमार्फत बोकेको लोकरिझान दायित्वका कारण चालू खर्च गत अवधिको भन्दा केही बढी देखिएको छ । तर, विकास निर्माणमा खचर्नुपर्ने पूँजीगत बजेट परिचालन कमजोर छ ।


गत आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले गरेको आम्दानी र खर्च ।

अघिल्लो साउनमा सरकारले १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पूँजीगत बजेट खर्चिएको थियो । यो साउनभर यस्तो खर्च जम्माजम्मी ९० करोड ६६ लाख रुपैयाँमात्रै छ । चालू खर्च भने १२ अर्ब १९ करोड १७ लाख पुगेको छ । गत साउनमा यस्तो खर्च ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ थियो । 
सरकारले तिर्नुपर्ने साँवाब्याज भुक्तानी लगायत वित्तीय व्यवस्थातर्फ भने गत साउनमा भन्दा खर्च बढेको देखिएको छ । अघिल्लो साउनभर यस्तो खर्च १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ भएको थियो । यो साउनमा २२ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।

‘संकेत राम्रो छैन’

अर्थ मन्त्रालयका अधिकारीहरू नै पहिलो महिनाको खर्च स्थिति हेर्दा चालू आर्थिक वर्षमा पनि सरकारले बजेट कार्यान्वयनमा उपलब्धि हात पार्ने सम्भावना न्यून रहेको बताउँछन् । 

‘अर्थमन्त्रीज्यू वा अर्थ मन्त्रालयले नै भएभरको बजेट आफैंले खर्च गर्ने होइन, तर सम्बन्धित निकायले खर्च नगर्दा अपजस त बजेट ल्याउने निकायले नै खेप्ने हो,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘राजनीतिक हस्तक्षेप र स्वार्थका कारण धेरै अघिदेखि बजेट गिजोल्ने विकृति हावी भयो । अर्थमन्त्रीकै दलले यो विकृतिको नेतृत्व ग¥यो । त्यही सिको गरेका दलहरू सत्ता र प्रतिपक्षमा छन् । बजेटका अख्तियारी पाउने निकाय नै भ्रष्ट बनाएपछि कि अपारदर्शी खर्च हुने हो, कि खर्च नै नहुने हो । राजस्वका हकमा पनि त्यही हो ।’

साउनमा भएको आम्दानी र खर्च, बजेट कार्यान्वयन गर्ने निकायको मनोबल र अर्थमन्त्रीको पहल नियाल्दा यो वर्ष पनि संकेत राम्रो नदेखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सरकारले गत आर्थिक वर्षभर कूल लक्ष्यको करिब ६८ प्रतिशतमात्रै राजस्व उठाउन सकेको थियो । यस्तै पूँजीगत खर्च पनि लक्ष्यको ६१ प्रतिशतमै सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस