
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिले आफूले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले नपत्याएको स्मरण गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो । त्यस बेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए ।’
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् हाम्रो सङ्कल्प, इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले विगतको ‘लोडसेडिङ’को स्मरण गर्दै त्यसको समाधानका लागि गरिएको प्रयासका बारे अगाडी भने, ‘प्राधिकरणको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोष्टममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो ।’
प्रधानमन्त्रीले भने, “मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय भएका छन् भने देश र जनताको हितमा धेरै काम भएका छन । प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ ।”
देश जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जलवायु जोखिमसँग सम्बन्धित पक्षलाई समेत मनन गर्दै बिना विलम्ब यस अवसरको उपयोगिता लिन हामीपछि पर्नु नहुने बताए । आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत् माग पूरा गरी बढी भएको परिमाणको विद्युत् बिक्रीका लागि मार्ग प्रशस्त भएकोसमेत उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस