aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु पर्छः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ भदौ २०८०
आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु पर्छः अर्थमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री डा. महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, प्रवक्ता डा। महतले भन्नुभयो, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’ 

डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ । त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’  

प्रतिक्रिया दिनुहोस