aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तेलको खपतले देखायो विश्व अर्थतन्त्रको नयाँ तस्बिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ भदौ २०८०
तेलको खपतले देखायो विश्व अर्थतन्त्रको नयाँ तस्बिर

कुनै पनि मुलुकको आर्थिक विकासको गति कुन दरमा अघि बढिरहेको छ भन्ने कुराको अनुमान लगाउन सबैभन्दा पहिला हेरिने बिषय हो, त्यसले खपत गरेको ऊर्जा । अहिले पनि ऊर्जाको सर्वाधिक ठूलो स्रोत रहेको कारण विश्वव्यापी रुपमा नै खनिज तेलको खपतको आधारमा कुनै पनि देशको अर्थतन्त्रको आकारको समेत अनुमान लगाउने गरिन्छ ।

ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा हालका वर्षहरूमा लगातार बढ्दै गए पनि, यातायात र औद्योगिक क्षेत्रमा आवश्यक पर्ने ताप उत्पन्न गर्ने कार्यमा खनिज तेल संसारको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा स्रोत बनिरहेको छ।

स्टाटीकाको रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को एक विश्लेषण अनुसार २०२० मा विश्वको ऊर्जा आपूर्तिको २९ प्रतिशत आपूर्ति खनिज तेलबाट भएको थियो। विश्व ऊर्जा २०२३ को ऊर्जा संस्थान सांख्यिकीय समीक्षामा आधारित रिपोर्टले देखाए अनुसार विश्वका  दुई देशहरूले मात्रै सन् २०२२ मा अत्यन्तै ठूलो परिमाणमा खनिज तेलको उपभोग गरेका थिए ।

रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिकाले एक्लै नै प्रति दिन एक करोड ९० लाख ब्यारेल तेल उपभोग गरेको थियो । यसरी हेर्दा अमेरिका अहिले पनि संसारको सबैभन्दा बढी खनिज तेल उपभोग गर्ने मुलुक हो । दोस्रोमा हरेक क्षेत्रमा अमेरिकाको सबैभन्दा कडा आर्थिक र राजनीतिक प्रतिद्वन्द्वीका रुपमा रहेको  जनवादी गणतन्त्र चीन रहेको देखिन्छ । गत वर्ष चीनले प्रति दिन एक करोड ४० लाख ब्यारेल तेल खपत गरेको थियो।

अन्य देशहरूको तेलको खपत यी दुई महाशक्तिहरूको तुलनामा निकै कम छ। विश्वका शीर्ष १० खनिज तेल खपत कर्ताहरूको सूची हेर्ने हो भने बाँकी शीर्ष ८ उपभोक्ताहरू संयुक्त राज्य अमेरिका र चीनले प्रयोग गरेको तेलको दुई तिहाइ परिमाण मात्र उपभोग गर्छन् ।

तेलको उपभोगको  विगत एक दशकको तथ्याङ्क निकै रोचक छ । सन् २०१२ र २०२२ को बिचमा तेल खपतमा भएको परिवर्तनलाई हेर्दा तथ्याङ्कमा उल्लेखनीय परिवर्तन भएको देखिन्छ ।

यसबिच अमेरिकी तेलको प्रयोगमा करिब नौ प्रतिशतले मात्र वृद्धि भएको छ भने चीन र भारतले आफ्नो उपभोग क्रमशः ४२ र ४१ प्रतिशतको वृद्धिको साथ विकास गरेको देखिन्छ ।

समग्रमा हेर्दा तेलको उपभोग बढाउँदै लागेका मुलुकहरूमा ब्रिक्स अन्तर्गतका मुलुकहरू अगाडी देखिएका छन् । ब्रिक्सका  पाँच मध्ये चार देशहरू वर्तमानमा सर्वाधिक तेल खपत गर्ने शीर्ष ८ देशहरूमा परेका छन् । त्यसमा पनि चार मध्ये तीनले त गएको एक दशकमा जीवाश्म इन्धनको खपतमा उल्लेखनीय वृद्धि गरेको तथ्याङ्कमा देखिएको छ।

यसरी खनिज तेलको उपभोगमा देखिएको अमेरिकाको ह्रास र ब्रिक्स अन्तर्गतका मुलुकहरूको वृद्धिले पनि नयाँ वैश्विक अर्थतन्त्र ब्रिक्स केन्द्रित बन्ने र ती मुलुकहरूले तीव्र गतिमा आर्थिक विकासलाई अघि बढाइरहेको भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस