aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मेलम्चीको पानी एक वर्षमै ल्याउन चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
मेलम्चीको पानी एक वर्षमै  ल्याउन चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम एक वर्षमा सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता गरेको छ ।

१२ महिनाभित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने बताएको छ । आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ ।

छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । यदि काममा ढिलाई भए पनि सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ । हेडवक्सतर्फ पनि २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउँदैछ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्नेछ ।

सिनोले सम्झौता आगावै कार्यस्थलको अवलोकन गरिसकेको छ । सिनो माथिल्लो तामाकोसीको सिभिल ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा पनि काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ ।

प्रतिक्रिया दिनुहोस