काठमाडौं । सिद्धार्थनगर नगरपालिकाकाले लगाएको करको विषयमा व्यवसायीहरू असन्तुष्ट बनेका छन् । सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्वारा लागु गरिएको आर्थिक वर्ष २०८०/८१ को व्यवसाय करको दरमा आपत्ति जनाइएको हो ।
रुपन्देही उद्योग व्यापार संगठन र रुपन्देही सिद्धार्थ उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्वारा लागु गरिएको आर्थिक वर्ष २०८०/८१ को व्यवसाय करको दरमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘राजश्व परामर्श समितिमा छलफल तथा सहमति भएकोभन्दा फरक ढङ्गबाट आ. व. २०८०/८१ को व्यवसाय करको दर रेट सिद्धार्थनगर नगरपालिकाले प्रकाशन गरेको र नगरमा अवस्थित उद्योगी व्यवसायीहरूको व्यापक रूपमा गुनासो आएकोले सो सम्बन्धमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र उद्योग व्यापार संगठन, रुपन्देहीको संयुक्त रूपमा विमति रहेको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, व्यवसायीहरूले उद्योगी व्यवसायीहरूले सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अर्को निर्णय नगरेसम्म व्यवसाय कर नबुझाउने समेत घोषणा गरेका छन् । हालको व्यवसायको अवस्था अत्यन्तै मन्दीमा रहेकोले व्यवसाय करको दरमा यथाशीघ्र संशोधन गरी लागू गर्न उनीहरूको माग छ । सहमति अनुसार नभएमा आन्दोलनमा उत्रिन व्यवसायीको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस