aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ भदौ २०८०
इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग

काठमाडौं । समाजवादी मोर्चाअन्तर्गत संयुक्त विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग गरेका छन् । मोर्चाले बिहिबार पत्रकार सम्मेलन गरी इन्जिनियरिङ अध्ययन संस्थान (आइएओइ)लाई शुक्रबार बेलुकासम्म शुल्क वृद्धि खारेज गर्न माग गरेका हुन् ।

विभिन्न चार विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहअन्तर्गत नियमिततर्फको शुल्क रू ३५ हजारबाट बढाएर रू ८२ हजार र पूर्णतर्फ रू तीन लाख ३० हजारबाट बढाएर रू सात लाख ७५ हजार पुर्‍याइएकोप्रति आपत्ति जनाएका हुन् । 

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले शुल्क वृद्धि खारेज गर्नुपर्ने भन्दै वार्ताको मञ्चन गरेर भ्रममा नपार्न आग्रह गरे । उनले विभिन्न कलेजहरूमा भइरहेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको जनाए । 

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुल्क वृद्धिले विद्यार्थी मर्कामा परेको भन्दै तत्काल शुल्क वृद्धि खारेज गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा जनता समाजवादीनिकट विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, नेकपा विप्लवनिकट अखिल क्रान्तिकारीका महासचिव नरेन्द्र विश्वकर्मालगायतले शुल्क वृद्धि फिर्ता गरी शिक्षालाई आम नागरिकको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस