भैरहवा । सुन काण्डले भन्सार बदनाम छन् । त्यसमाथि अहिले सबै जनाको नजरमा परिरहेको सरकारी निकाय हो, यो । तर, भैरहवा भन्सार कार्यालयमा भने अनियमितता घटनाहरू झन् बढ्दै छन् ।
भदौ ७ गते बिहीबार युपि ५३ जी टी ०५७८ नम्बरको भारतीय गाडी र ना ५ ख ३३७ नं.को ट्रकमा सामान एक थरी दाखिला (इन्ट्रि) अर्कै बस्तुको भएर आएको पाइएको छ । यी दुई ओटा ट्रकमा प्लास्टिकको दाना भनेर गाडी इन्ट्रि भएकोमा चेकजाँचमा कपडा पाइएको थियो ।
७ गते पक्राउ परेको गाडीमा के छ भन्ने सम्म भन्सारका कर्मचारीले बताएका छैनन् । उनीहरूले ८ गते दिउँसो सम्म अनुसन्धान भइरहेको भन्दै सञ्चारकर्मीलाई बस्तुको प्रकार समेत नबताएपछि घटना थप शंकास्पद भएको छ ।
भन्सारको पार्किङको जिम्मा पाएको अन्नपूर्ण ट्रमिनल्सका कर्मचारीले दुई ओटै गाडिले प्लास्टिकको दाना भनेर गाडी प्रवेश गराएको भटेका छन् । भैरहवा भन्सार कार्यालयको प्रमुख मणिराम पौडेलले यसबारे केही जानकारी दिएका छैनन् ।
भारतीय गाडीलाई भन्सार गेट अगाडि राखिएको छ भने नेपाली नम्बरको गाडिलाई भन्सारका कर्मचारी बस्ने आवास गृह अगाडि विशेष तरिकाले राखिएको छ । पार्किङ गर्ने ठाउँ हुँदा हुँदै पनि नेपाली नम्बरको गाडी किन आवास गृह तिर राखियो ? सूचना प्राप्त हुनासाथ पुगेको सञ्चारकर्मीको टोलीले त्यसको जवाफ खोजिरहेको छ ।
समाचार सङ्कलन गर्न गएका पत्रकारलाई गाडी रोकेर राखेको ठाउँ तिर जान नै रोक लगाएर कर्मचारीले घटनालाई थप रहस्यमय बनाइरहेका छन् । भैरहवा भन्सार कार्यालयले घटनाको बारेमा सूचना नदिएपछि भन्सार विभागलाई जानकारी गराएपछि बल्ल आवास गृहतिर राखेको गाडीको भिडियो खिच्ने अवसर पत्रकारले पाएका हुन् ।
भन्सार गेट भित्र प्रवेश गरेको गाडी नियन्त्रणमा लिए पनि चालक फरार भएको कर्मचारी बताउँछन् । सूचना अधिकारी युवराज भट्टराईले गाडीमा के छ भन्ने बारे बोल्न नमिल्ने बताएका छन् । उनले सूचनाका आधारमा गाडी पक्राउ गरेको बताए पनि गाडीमा के छ भन्ने विषयमा बोल्ने आदेश नपाएको बताए ।
मनीराम पौडेलले नेतृत्व समालेको कार्यालयबाट गत जेठ ६ गते युपी ५३ ए एफ टी ५४५२ नं.को पिक गाडिबाट नक्कली प्रज्ञापन पत्र भरी माछा बाहिरिएको थियो । ३ हजार ८ सय किलो ग्राम माछा सशस्त्र प्रहरीले चेकजाँच गर्दा भन्सार नभएको तथ्य फेला परेको थियो । असार २५ गते सोमबार भारतबाट नेपाल भित्रिएको प्याज सहितको युपी ३१ टी ९९४१ नम्बरका माल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले रोक्दा बिना भन्सार गाडी पास हुने गरेको प्रमाण फेला परेको थियो ।
ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशङ्कामा टर्मिनलले रोकेको थियो । २०७९ मङ्सिर २२ गते भन्सारले ‘जिप्सन ग्रायानुअल्स’ भनी पास गरेका सामान पनि प्रहरी नियन्त्रणमा परेको थियो । २०७८ भदौ ४ गते लु २ च २५० नम्बरको पिकअप गाडी बाट २ करोड ३५ लाख रुपैयाँको मदिरामा लगाउने स्टिकर भन्सारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस