
क्यानडा । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको दाबी गरेका छन् । विश्व वातावरण कोषको ७ औँ एसेम्बली बैठकलाई सम्बोधन गर्दै महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको लागि पानीको श्रोत नेपाल रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।
उनले वर्तमानका समस्या निकै जटिल रहेकोमा जोड दिँदै विश्वका नेताहरूलाई सुझाव समेत दिएका छन् । उनले भने, 'कोषको आकार बढाएर मात्र हुँदैन, मानव विकासमा खर्च गर्नुपर्छ ।'
उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजा स्वरूप बाघ तथा गैँडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए । साथै उनले यस्ता वन तथा वन्य जन्य सम्पदा नेपालको लागि मात्र नभै विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको उल्लेख गरेका छन् ।
यी प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरूमा बाढी पहिरो, अतिवृष्टि, सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको उनले बताए ।
नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरूको ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखेका थिए ।
जलवायु परिवर्तन जोखिम उच्च भएका देशहरूको समेत प्रतिनिधित्व गर्दै मन्त्री महतले लगानी आयोजनाहरूको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले मानव विकासको क्षेत्रमा महत्त्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हासिल हुन समेत नसक्ने बताए ।
सो अवसरमा मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिदैं आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए । यसै गरी उनले जलवायु परिवर्तनको बहु आयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखेका थिए ।
मन्त्री महत विश्व वातावरण सुविधाको ७ औँ एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । एस्म्वलीको बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले उपाध्यक्षको हैसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका थिए । यस क्रममा मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरे ।
सो अवसरमा विश्व वातावरण सुविधाका प्रमुख कार्यकारी अधिकृत कार्लोस इमान्युल रोड्रिगेजसँग भएको द्विपक्षीय बैठकको क्रममा कार्यकारी प्रमुख रोड्रिगेजले जैविक विविधता, वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपाल सरकारले गरेको प्रयास तथा सो क्षेत्रमा कूल लगानीको ७९ प्रतिशत आन्तरिक स्रोतबाट गरेकोमा सह्राना गरेका थिए । सो अवसरमा कार्यकारी प्रमुखले प्लास्टिक विस्थापन तथा फोहोर व्यवस्थापन लगायत हरित पूर्वाधारको क्षेत्रमा नवीन प्रविधि हस्तान्तरण गर्न विश्व वातावरण सुविधाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस