aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गर्भवती तथा सुत्केरी र स्याहारकर्ताको लागि उपयोगी पोषण सम्बन्धी एप सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
गर्भवती तथा सुत्केरी र स्याहारकर्ताको लागि उपयोगी पोषण सम्बन्धी एप सार्वजनिक

काठमाडौं । गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको जानकारी दिने पोषण सम्बन्धी एप सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘ मेरो पोषण साथी ’ मोबाइल एप उपयोगी हुने बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्त्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’

मन्त्री बस्नेतले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहु आयामिक प्रभाव पार्ने बताइन ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता मिश्रले सबै नागरिकलाई एक्ला एक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तै: गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्‍याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए । उनले ७३ प्रतिशत नेपालीको हातमा मोबाइल पुगेकाले मोबाइलको माध्यमबाट सूचना पुर्‍याउन सहज र प्रभावकारी हुने भएकाले एप उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस