
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
बोदेबर्साइन नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भएको थियो । उनीहरूले उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको पाइएको छ ।
बोदेबर्साइन नगरपालिका पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको पाइएको छ । जसको झुट्टा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको पाइएको छ ।
कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्माणार्थ पेश गरी स्वीकृत भई १४ लाख ७१ हजार ९२१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको पाइएको अख्तियारको भनाई छ । यादवलाई बिगो चौध लाख एकहत्तर हजार नौ सय एक्काइस रुपैयाँ कायम गरी कैद समेतको सजाय हुन माग दाबी गरिएको छ ।
उक्त कार्यमा बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डल समेत संलग्न रहेका छन् । उनीहरूले बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै सञ्चालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेका थिए । उनीहरूसँग पनि सोही रकम बराबरको बिगोमा माग गरिएको छ ।
बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको थिए । सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी दिएको थियो । उनीहरू तिनै जनासँग भुक्तानी भए बराबरको रकम माग दाबी गरिएको छ ।
माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माले सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैर कानुनी लाभ पुर्याएका थिए । उनीहरूसँग पनि चौध लाख एकहत्तर हजार नौ सय एक्काइस रुपैयाँ मागदावी सहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस