
एजेन्सी । शेयर बजारका विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेट आज ९३ वर्षका भएका छन् । उनको जन्म ३० अगस्ट १९३० मा अमेरिकाको नेब्रास्कामा भएको थियो । उनले ११ वर्षको उमेरमा आफ्नो पहिलो स्टक किने र १३ वर्षको उमेरमा नै पहिलो कर तिरेका थिए।
फोर्ब्स रियल टाइम अर्बपतिका अनुसार उनी हाल ११९.७ बिलियन डलरको कुल सम्पत्तिको साथ विश्वको पाँचौं धनी व्यक्ति हुन्। उनले बर्कशायर ह्याथवे नामको आफ्नो कम्पनी चलाएका छन् । जसको आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा १०.४ बिलियन डलरको कीर्तिमानी नाफा छ।
संसारको पाँचौं धनी व्यक्ति भए पनि वारेन बफे ओमाहामा ६५ वर्ष पुरानो घरमा बस्छन् जुन उनले ३१,५०० डलरमा किनेका थिए। याहू फाइनान्सका अनुसार वारेन बफेटको घरको मूल्य ४४ गुणा बढेर १४,३९,००० डलर पुगेको छ । सन् २००९ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म योभन्दा राम्रो घरको कल्पना गर्न सक्दिनँ।’ बफेटको पोर्टफोलियोमा यो एक मात्र रियल इस्टेट सम्पत्ति हो।
प्रतिक्रिया दिनुहोस