aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

चीनियाँ नक्सामा नेपालको ४६० वर्ग किमी क्षेत्रफल भारततर्फ, बालेन चीन नजाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
चीनियाँ नक्सामा नेपालको ४६० वर्ग किमी क्षेत्रफल भारततर्फ, बालेन चीन नजाने

काठमाडौं । केही दिनअघि जारी गरेको ‘स्ट्याण्डर्ड म्याप’ मा नेपालको करिब ४६०.२८ वर्ग किमी क्षेत्रफल भारततर्फ पारेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उत्तरी छिमेकी राष्ट्र चीनको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्‌ ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‌, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

चीनले जारी गरेको सो नक्सामा नेपालले दाबी गरिरहेको लिपुलेक-कालापानी-लिम्पियाधुरा क्षेत्रलाई भारतको नक्सामा देखाइएको छ । जब कि त्यो जमिन अमेरिकी सहयोगमा तिब्बतीहरूले चीनविरुद्ध गरेको खम्पा विद्रोह कालमा भारतले आफ्नो नियन्त्रणमा लिएको थियो । खम्पा विद्रोहलाई नेपाली सेनाले सैन्य कारबाही गरी विफल पारिदिएपछि भारतले नेपालकाे उत्तरी सीमामा दर्जनौं सैन्य क्याम्प हटाएको थियो । तर, कालापानी क्षेत्रको क्याम्प भने अहिलेसम्म हटाएको छैन ।

भारतले कालापानी क्षेत्रमा अतिक्रमण जारी राखेपछि नेपालको संसद्‌ले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा चुच्चे नक्साका नामले पनि चर्चित छ । करिब ४६०.२८ वर्ग किलोमिटर जमिन थपिएसँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर कायम भएको छ ।

नेपालले नयाँ नक्सा जारी गरे पनि भारतले कालापानी क्षेत्रमा सैन्य अतिक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस