
पछिल्ला ६ महिना यता चीनको अर्थव्यवस्थाका राम्रा खबर आएका छैनन् । विकासको गति सुस्त छ । युवा बेरोजगारीले रेकर्ड कायम गरेको छ । मुद्रा कमजोर भइरहँदा निर्यात पनि खस्किएको छ । सम्पत्तिका क्षेत्रमा पनि राम्रो खबर छैन ।
अर्थतन्त्रका सूचकहरू खस्किँदै गर्दा रणनीतिक र सैन्य मोर्चामा चीनसँग दुश्मनी मोलिरहेको अमेरिका लगायत पश्चिमा मुलुक खुशी देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनियाँ अर्थव्यवस्थाको भविष्य खतरनाक रहेको र बेइजिङ केन्द्रित असन्तोष बढिरहेको दाबी गरिसकेका छन् ।
बाइडेनको यस्तो अनुमानप्रति चीनका राष्ट्रपति सी चिनफिङले कडा प्रतिक्रिया त दिएका छन्, तर शासकको उत्तेजित प्रतिक्रियाले अर्थतन्त्रका सूचक सुध्रँदैनन् । चिनफिङले चीनको अर्थतन्त्र निकै राम्रो रहेको र त्यो निकै लचक, क्षमतायुक्त र बलियो रहेको बताएका हुन् ।
यहाँनेर चीनको अर्थतन्त्रबारे चिनफिङ र बाइडेन कसले सही बोलिरहेका छन् त ? प्रश्नको उत्तर यी दुई नेताले दिएको क्रिया/प्रतिक्रियाकै बीचमा हुनसक्छ । बेलायती मिडिया बीबीसीका अनुसार, चीनको अर्थव्यवस्था तत्कालै गिर्ने सम्भावना त छैन । तर, बेइजिङले देशको अर्थव्यवस्थामा गम्भीर चुनौतिहरू सामना गरिरहेको छ ।
घरजग्गा कारोबारमा संकट
चीनको आर्थिक समस्याको केन्द्र नै यसको सम्पत्ति बजार हो । यसअघि रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रले चीनको कूल सम्पत्तिको करिब एक तिहाई हिस्सा ओगटिरहेको थियो ।
सिंगापुरस्थित बिजनेस स्कूल इनसीडका अर्थशास्त्र प्राध्यापक एन्टोनियो फेटस भन्छन्, ‘पछिल्लो दुई दशकयता निजीकरणको लहरले चीनको रियलस्टेट सेक्टरमा तीव्र वृद्धि देखियो । तर, कोरोना महामारी शुरु भएसँगै २०२० देखि यो क्षेत्र संकटमा फस्यो ।’
फेटसको विश्लेषणमा वैश्विक महामारी र घट्दो जनसंख्याका कारण चीनमा घरजग्गा कारोबारको क्षेत्र निकै प्रभावित बनेको हो । अमेरिकाले पनि सन् २००८ मा यस्तै संकट झेलेको थियो । त्यसलाई नियालेको चीन सरकारले घरजग्गा विकासकर्तालाई ऋण दिने सीमा घटाइदिएको थियो । पहिले नै अर्बौं डलर ऋण लिएर कारोबार गरिरहेका विकासकर्तालाई सरकारको नयाँ नीतिले समस्यामा पारिदियो । अन्ततः उनीहरू ऋण चुक्ता गर्नै नसक्ने अवस्थामा पुगे ।
अहिले चीनमा आवास (घर) को माग ह्वात्तै घटेको छ । माग घटेसँगै घरजग्गा लगायत आवासीय सम्पत्तिको मूल्य पनि ओह्रालो लागेको छ । यसैकारण चीनका सम्पत्ति मालिकहरू पछिल्ला तीन वर्षमा पहिलेभन्दा पनि गरीब भएका छन् ।
सम्पत्ति व्यवस्थापन फर्म नेटिक्सिसका अर्थशास्त्री एलिसिया गार्सिया हरेरेले पनि चीन सरकारले घरजग्गा मामिलामा सही नीति नलिएको बताउँछिन् । उनी भन्छिन्, चीनमा अहिलेसम्म शेयर बजारमा लगानी गर्न या कम ब्याजदरमा कुनै बैंक खातामा रकम राख्नुभन्दा घरजग्गामा लगानी गर्नु लाभदायक थियो । सरकारले शून्य कोभिड नीति लिएपछि त्यहाँ घरजग्गाको कारोबार जोडतोडले हुने अनुमान थियो ।’
तर, यस्तो भएन । घरजग्गाकै मूल्य घटेपछि चीनियाँ नागरिकको बचत प्रतिफलमा बदलिन सकेन । मूल्य घटिरहेको सम्पत्ति किन्नुभन्दा आफूसँग रहेको नगद जोगाएर राख्नु नै चीनियाँले उपयुक्त ठाने ।
रियलस्टेट सेक्टरको स्थिति खराब भएसँगै चीनियाँ नागरिकले आफू गरिब भएको महसुस गरिरहेका छन् । स्थानीय निकायमा कर्जा समस्या गम्भीर भएको छ । एक अनुमानअनुसार, त्यहाँको कूल राष्ट्रिय आयको एक तिहाइ हिस्सा त विकासकर्ताले जमिन बेच्दा प्राप्त हुने गरेको थियो, जो अहिले संकटमा छ ।
घरजग्गा क्षेत्रमा निम्तिएको यो संकट समाधान हुन चीनले केही वर्ष खर्च गर्नुपर्ने अर्थशास्त्रीहरू बताउँछन् ।
आर्थिक मोडलमाथि प्रश्न
पश्चिमा मुलुकहरूले चीनको कम्युनिष्ट शासनप्रति सधैं प्रश्न उठाउने र आलोचना गर्ने गरेका छन् । चीनका आर्थिक सूचक कमजोर हुँदा चीनलाई नै कमजोर बनाउन पश्चिमाहरू एकसाथ खनिने गरेका छन् । उनीहरूले चीनको राजनीतिकमात्रै होइन, आर्थिक मोडल नै दोषपूर्ण रहेको बताउने गर्छन् ।
यो पटक पनि त्यही भएको छ, जसले पश्चिमलाई क्रियात्मक र बेइजिङलाई प्रतिक्रियात्मक बनाउँछ । पश्चिमा विश्लेषकहरूका अनुसार चीनको अर्थव्यवस्थाले कसरी काम गरिरहेको छ भन्ने कुरा जारी आर्थिक समस्याबाट थाहा हुन्छ । तीन दशकसम्म ‘शानदार तरक्की’ गरेको विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस्तो समस्या भोग्नु सामान्य कुरा होइन ।
यसबीच चीनमा निकै धेरै सडक, पुल, रेलमार्ग, कारखाना, विमानस्थल र भवनहरू बनाइयो । यी सबै काम गर्ने जिम्मेवारी स्थानीय सरकारहरूलाई दिइएको थियो । कयौं अर्थशास्त्रीहरूले विकासको यो विधिलाई अप्रासंगिक बताइरहेका थिए ।
निर्माण गरिरहने चीनको लत बुझाउने अचम्मलाग्दो उदाहरण हो : युनान प्रान्तमा भएको एउटा निर्माण कार्य । म्यानमार सीमा नजिकै पर्ने एक स्थानमा चीनले कोरोना संक्रमितलाई राख्ने एक क्वारेन्टीन बनाइरहेको छ । निकै धेरै कर्जामा फसेको स्थानीय सरकार यति दबाबमा छ कि उसले सो क्वारेन्टीन बनाउने सम्पत्ति जुटाउन जमिन बेचिरहेको छ ।
चीनले पहिले पनि निर्माण क्षेत्रमा धेरै काम गरिसकेको छ । यस्ता क्वारेन्टीन थपिरहने कामलाई त त्यहाँ धनको बर्बादी संज्ञा दिन थालिएको छ ।
निर्णायक मोड आएकै हो ?
केही प्राज्ञ एवम् विश्लेषकहरूले चीन अब निर्णायक मोडमा रहेको दाबी गरिरहेका छन् । पूरानो मोडलले अब त्यहाँ काम गर्नेवाला छैन । गम्भीर संरचनात्मक र संस्थागत सुधारले नै चीनको अर्थतन्त्रमा मडारिएका बादल फटाउन सक्छ ।
वित्तीय क्षेत्रले अर्थव्यवस्थामा गति दिन चीन सरकारले सबैभन्दा पहिले नियमन कमजोर बनाउँदै निजी क्षेत्रलाई धेरै शक्ति दिनुपर्ने पश्चिमा विश्लेषकहरू बताउँछन् । चीनले यस्तै गर्दा उसको राजनीतिक र आर्थिक व्यवस्थाको जग चाहिँ बाँकी रहनेछैन । खुला अर्थव्यवस्थाको कुरा गरे पनि चीन कठोर नियमनमा अडिग देखिँदै आएको छ ।
निजी क्षेत्रलाई धेरै शक्ति दिनुपर्ने स्थिति निम्तिए पनि चीनले ठीक उल्टो गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो पकडलाई सरकारले बलियो बनाएको छ । पश्चिमी संस्कारबाट प्रभावित बैंकरहरूलाई कारबाही गरको छ । देशकै सबैभन्दा ठूलो प्रविधि फर्म अलीबाबामाथि भएको कारबाही त्यसैको उदाहरण हो ।
चीन सरकारको त्यस्तो कदमको असरले युवाहरूलाई बेरोजगार बनाइदिएको छ । अहिले चीनमा स्नातक अध्ययन पूरा गरेका लाखौं युवाहरूले रोजगारी खोजिरहेका छन् । शहरी क्षेत्रमा ‘ह्वाइट कलर जब’ खोज्ने दौडमा छन् । संगठित क्षेत्रमा दक्ष जनशक्तिले पाउने रोजगारीलाई ‘ह्वाइट कलर जब’ भनिन्छ ।
जुलाईमा सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार १६ देखि २५ वर्ष बीचका २१.३ प्रतिशत चीनियाँ युवाहरू यतिखेर कामको खोजीमा भौंतारिइरहेका छन् । स्थिति झनै खराब भएपछि चीनियाँ अधिकारीहरूले रोजगारी आंकडा नै जारी गर्न छाडेका छन् ।
एक कडा र केन्द्रीकृत अर्थव्यवस्था नै यति धेरै संख्याको श्रमशक्तिलाई रोजगारी दिन निकै हदसम्म संघर्ष गरिरहेको यथार्थ हो ।
बेइजिङले के गर्ला ?
अर्थव्यवस्थाको दिशा बदल्न राजनीतिक विचारधारा पनि बदल्नुपर्ने भनिन्छ । तर, चीनको राजनीतिमा बितेका केही महिनायता जे भइरहेको छ : त्यसले नयाँ बदलावको संकेतसम्म गर्दैन । देशको नेतृत्वले विचारधारा बदल्न आवश्यक नरहेको तर्क दिन सक्छ ।
चीनको कम्युनिष्ट पार्टीले सर्वसाधारणको जीवनमा आफ्नो पकड थप कडा गरिदिएको छ । सी चिनफिङले पनि कम्युनिष्ट पार्टीमा आफ्नो लगाम थप कसेका छन् । धेरै मामिलाहरूमा के लाग्छ भने चीन आफ्नै सफलताबाट पीडित भएको छ ।
विगतको उपलब्धिसँग तुलना गर्दा चीनको वृद्धिदर निकै घटेको भन्न सकिन्छ । सन् १९८९ मै चीनको औषत वृद्धिदर करिब ९ प्रतिशत थियो । तर, २०२३ मा यो दर ४.५ प्रतिशतमात्र हुने अनुमान छ । यो निकै ठूलो गिरावट हो ।
चीनको प्रक्षेपित आर्थिक वृद्धिदर अमेरिका, बेलायत र अधिकांश यूरोपेली देशको तुलनामा निकै धेरै हो । तर, पश्चिमा देशको अर्थव्यवस्था नागरिकले गर्ने खर्चबाटै सञ्चालन हुन्छ । चीनले यस्तो मोडलसँग कुनै सरोकार नै राख्दैन । उसले यस्तो मोडललाई फजुलखर्ची र व्यक्तिवादी मोडल भन्छ ।
सी चिनफिङ आर्थिक वृद्धि र विकास त चाहन्छन्, तर राजनीतिक र आर्थिक मोडल नै विस्थापन गरेर होइन । सेमिकन्डक्टर्स, कृत्रिम बौद्धिकता (एआइ) र हरित प्रविधि लगायत नवीन प्रविधिका माध्यमबाट चीन उठ्नसक्ने ठाउँ बाँकी नै छ । यो क्षेत्रमा चीनले आफूलाई विश्वस्तरको प्रतिष्पर्धी बनाएको छ र अरूप्रति निर्भर छैन ।
प्रतिकूलताबीच अनुकूलता
धर्मराउँदै गरेको चीनियाँ अर्थव्यवस्थाबारे सरकारले निकै कम बोल्ने गरेको छ । अर्थव्यवस्था सुधार्न देखिनेगरी कदम पनि चालेको छैन ।
अहिले चीनले लगानी बढाउन कर्जाको सीमा सहज बनाइदिएको छ र ब्याजदरमा केही कटौती गरिदिएको छ । तर, त्यहाँ रहेका विदेशी लगानीकर्ताहरू चिन्तित देखिन्छन् । सरकारले चाँडै उपयुक्त कदम चालोस् भन्ने उनीहरू चाहन्छन् । चीनको नेतृत्व चाहिँ निर्णय निम्ति अझै पर्खने मुडमा देखिन्छ ।
लगानीकर्तालाई चीनको तथ्यांक हेर्दा त्यहाँ विकास गर्ने थप सम्भावना छ भन्ने लाग्छ । चीन आर्थिक महाशक्ति बन्न सक्छ । तर, सत्य के हो भने त्यहाँका नागरिकको वार्षिक औषत आय १२ हजार ८५० अमेरिकी डलर हो । उसको प्रतिष्पर्धी अमेरिकामा यस्तो आय ६३ हजार डलरभन्दा माथि छ ।
चीन सरकारलाई एउटा सुविधा के छ भने त्यहाँ चुनाव हुँदैन । उसले लामो अवधिलाई ध्यानमा राख्दै आर्थिक फैसला लिन सक्छ । तर, उच्च आययुक्त मुलुकले झैं चीनले कयौं फैसला गर्ने तागत राख्दैन ।
प्रभावकारी शासन या व्यवहारिक फैसला लिनुको साटो विचारधारालाई प्राथमिकता दिइरहेका सी चिनफिङले नयाँ पहल थाल्नु उनकै लागि खतरनाक हुनसक्छ । अर्थव्यवस्थामा राम्रो भइरहेका बेला यस्ता फैसला गर्दा खास फरक पर्दैन । चीन अहिले त्यस्तो अनुकूलतामा नै छैन ।
चीनको अर्थव्यवस्थाले तीन वर्षसम्म लागू भएको शून्य कोभिड नीतिबाट भर्खरै मुक्ति पाएको छ । त्यहाँका नागरिकहरू बेरोजगारी र सम्पत्तिको मूल्यमा गिरावटजस्ता समस्यासँग जुधिरहेका छन् ।
(बीबीसीबाट अनूदित र प्रकाशित ।)
प्रतिक्रिया दिनुहोस