aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सुन तस्करीमा मुछिएका महराले सुनछहारीबाट रूपान्तरण अभियान थाल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
सुन तस्करीमा मुछिएका महराले सुनछहारीबाट रूपान्तरण अभियान थाल्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को रुपान्तरण अभियान  सुन तस्करी प्रकरणमा आरोपित उपाध्यक्ष कृष्णबहादुर महराले उद्‌घाटन गर्ने भएका छन्‌ । महरा पछिल्लो पटक विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याउँदा समातिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका छन्‌ । उनका छोरा राहुल महरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उनै महराले भोलि (शनिबार) रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी रूपान्तरण अभियान उद्‌घाटन गर्न लागेका हुन्‌ । अहिले माओवादीले सुन तस्करी प्रकरणमा मुछिएका आफ्ना नेताहरूलाई सुरक्षित राख्नेगरी यो प्रहरी अनुसन्धान चरणमा रहेको मामिलालाई राजनीतिकरण गरिरहेको छ ।

माओवादीले उल्लेखित रूपान्तरण अभियान सबै वडामा एकसाथ आरम्भ गर्ने जनाएको छ । अध्यक्ष एवम्‌ प्रधानमन्त्री प्रचण्डसहित २२ केन्द्रीय पदाधिकारीलाई पार्टीले तीन महिने अभियान उद्‌घाटन गर्ने जिम्मेवारी तोकेको छ ।

माओवादीका अनुसार अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरी–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नेछन्‌ । अन्य नेताहरूले पनि देशका विभिन्न स्थानमा अभियान उद्‌घाटन गर्नेछन्‌ ।

आर्थिक मामिलामा माओवादीभित्र द्वन्द्वकालदेखि नै विवादित महरा शान्तिप्रकृया यता पनि दर्जनौं अपरादर्शी गतिविधिमा आरोपित छन्‌ । चीनियाँ व्यापारीलाई रकम माग्नेदेखि संसद्‌ कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग महरामाथि लागेको छ । उनै महराले माओवादी रूपान्तरण अभियान उद्‌घाटन गर्ने भएका हुन्‌ ।

प्रतिक्रिया दिनुहोस