काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान दिएको जग्गामा अनियमितता गरेका लिखुपिके गाउँपालिकाका वडाध्यक्ष र तत्कालीन दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोलुखुम्बु, लिखुपिके गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सो गाउँपालिकाको वडा नं. २ मा वडा कार्यालयको भवन निर्माण गर्न दाताले जग्गादान दिएका थिए । वडाध्यक्ष बस्नेतले नि:शुल्क प्राप्त भएको जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकामा पेश गरेका थिए ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने रकम ६ लाख रुपैयाँ भुक्तानी लिई दिई दिन लगाएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
प्रतिवादीहरू रमेश कुमार बस्नेत, राजेन्द्र भण्डारी र जीवन सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भए बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई अख्तियारले आरोपपत्र दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस