काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले राजस्व लक्ष्य भेट्न जेमा पनि कर लगाइदिएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आइतबार आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले कसरी पैसा उठाउने भन्ने मात्रै ध्यान दिएर राजस्वको लक्ष्य तोकेको बताउँदै पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘यो वर्ष राजस्व १० खर्ब रुपैयाँ उठ्यो । सरकार अर्को वर्ष १४ खर्ब उठाउँछु भनिरहेको छ । यो भन्दा अघिको वर्षहरूमा यति धेरै वृद्धि भएर राजस्व उठाएको रेकर्ड नै छैन । यस वर्ष जेमा पनि कर लगाइदिएको छ ।’
सरकारका कारण हवाई टिकट काट्ने व्यवसायीहरू पलायन हुने निश्चित रहेको उनले बताएका छन् । पाण्डेले भने, ‘हवाई टिकटमा अहिले भ्याट लगाइएको छ । यसले टिकटिङ गर्ने व्यवसायीहरूलाई समस्या परेको छ । हवाई टिकटमा सरकारले गरेको व्यवस्थाका कारण व्यवसायीले सरकारप्रति गर्ने विश्वास घटेको छ । त्यति मात्र नभएर नेपालबाट टिकट काट्नेहरू बाहिर पलायन हुने निश्चित छ ।’ ब्याजदर नघटे व्यवसायीहरूले ऋण तिर्न नसक्ने अवस्था निम्तने र ऋण लिँदा राखेको धरौटी विस्तारै लिलामीमा जाने पाण्डेले बताए ।
मुलुकको अर्थतन्त्र चलायमान राख्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । साथै सरकारले खर्च गर्छ भन्ने लक्ष्य नै यसपालि घटेको छ । लक्ष्य नै घटाएपछि खर्च गर्ने सम्भावना न्यून रहने पाण्डेको दाबी छ ।
‘यो वर्ष खाद्यान्न अभाव हुने, उद्योगहरू पनि उत्पादनमा कम जाने, व्यापार कारोबार पनि स्वत: घट्ने र देश आर्थिक संकटमा जाने देखिन्छ’, उनले भने ।
त्यस्तै, शेयर बजारमा लगानीकर्ताको करिब १४ खर्ब रुपैयाँ घाटामा गएको बताउँदै पाण्डेले भने, ‘शेयर कर्जाको सीमाबारे कतिपय बैंकहरूले कर्जाको १० प्रतिशतसम्म सीमा गरिदिए हुन्छ भनिरहेका छन् । शेयर कर्जाको सीमा हटाइदिनु पर्छ । यसो गर्न सकिएमा शेयर बजार सुधारमा जान्छ ।’
पूर्वअर्थमन्त्री पाण्डेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको बचाउ समेत गरेका छन् । उनले भने, ‘संसारका ठूला व्यापारीहरू जेल गएर बसेका छन् ? हाम्रा व्यवसायी मीनबहादुर गुरुङ जेलमा छन् । मीनबहादुर पैसा लिएर भाग्छ ? भाटभटेनी काँधमा बोकेर उ विदेश जान्छ ? उनले गल्ती नै गरेका छन् भने हाजिरीमा अनुसन्धान गरे हुँदैन ? जेलमा लगेर राखेर नेपालमै केही गर्नु पर्छ भन्ने भन्दा पनि विदेश जान प्रोत्साहन गरेको छ ।’
प्रतिक्रिया दिनुहोस