aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ताप्लेजुङ –काठमाडौं उडान शुरु, भाडादर पनि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ भदौ २०८०
ताप्लेजुङ –काठमाडौं उडान शुरु, भाडादर पनि घट्यो

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।  

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । 

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।  

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस