
एजेन्सी । जापानको रक्षा मन्त्रालयले पाँच वर्षमा जापानको कुल रक्षा खर्च दोब्बर बनाउने बृहत् योजना सरकार समक्ष पेश गरेको छ।
सो मन्त्रालयले आगामी आर्थिक वर्षको लागि ५२ अर्ब अमेरिकी डलर भन्दा बढी बजेट विनियोजनको लागि सरकार समक्ष माग गरेको हो । यो अनुरोधले प्रशान्त महासागरमा रहेको यो राष्ट्रलाई आगामी वर्षहरूमा मुलुकको कुल गार्हस्थ्य उत्पादनको कुल दुई प्रतिशतमा रक्षा खर्च पुर्याउने त्यहाँका प्रधानमन्त्री फुमियो किशिदाको योजनालाई सहयोग पुर्याउने छ।
किशिदाको प्रशासनले सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्च ६८ अर्ब डलर बनाउने लक्ष्य राखेको छ। यो कदमले जापानलाई संयुक्त राज्य अमेरिका र कम्युनिस्ट चीन पछि जापानलाई सबैभन्दा ठूलो सैन्य खर्च गर्ने तेस्रो मुलुक बनाउने छ । अहिले जापान त्यो सूचिमा नवौँ स्थानमा रहेको छ ।
जापानको रक्षा मन्त्रालयले अगस्ट ३१ मा यस्तो प्रस्ताव स्वीकृत गरेको थियो र त्यसलाई अनुमोदन गर्न अर्थ मन्त्रालयमा पठाएको थियो। यदि अर्थ मन्त्रालयले स्वीकार गर्यो भने जापानको बजेटमा रक्षा खर्च लगातार दोस्रो वर्ष ६ अर्ब भन्दा बढीले बढ्ने छ ।
बजेट स्वीकृत भएमा जापानको रक्षा बलले सो रकमबाट युद्ध पोत, क्रूज मिसाइल र हाइपरसोनिक वारहेडहरू खरिद गर्ने योजना बनाएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । प्रस्तावित खर्चहरू मध्ये गोला बारुद र हतियारहरू खरिद गर्ने ६ अर्ब डलर, टापुहरूमा हतियारहरू तैनाथ गर्न आवश्यक रसद क्षमताहरू सुदृढ गर्न ४ अर्ब डलर, नयाँ जहाजहरू, हेलिकप्टरहरू र नयाँ विशेष यातायात टोलीको लागि अर्ब डलर थप खर्च गर्ने योजनामा जापान रहेको छ ।
प्रतिक्रिया दिनुहोस