काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना परेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले यादव र एमआइएस अपरेटर वीरेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूले सेवाग्राहीबाट नगद दुई लाख रुपैयाँ घुस÷रिसवत बापतको रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । उक्त रकम र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र कुमार यादवसमेतको आपसी मिलेमतो तथा योजना रहेको पाइएको छ । यसमा विष्णुपुर गाउँपालिका अन्तर्गत सोलार बत्ती जडान कार्य लगायत आयोजनाहरूको कार्य सम्पन्न पश्चात पाँच लाख रुपैयाँ घुस÷रिसवत रकम लिएको पुष्टि आयोगको भनाई छ ।
ऊनीहरूसँग पाँच लाख रुपैयाँ बिगो माग गरिएको छ । अख्तियारले उनीहरू तिनै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस