aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तस्करीको अड्डा बन्दैछ भैरहवा भन्सार, दिनहुँ हुन्छन् अचम्मलाग्दो घटना

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, २० भदौ २०८०
तस्करीको अड्डा बन्दैछ भैरहवा भन्सार, दिनहुँ हुन्छन् अचम्मलाग्दो घटना

भैरहवा । भन्सार नाका छलेर, दायाँबायाँबाट लुकिछिपी चोरी तस्करी हुने घटना नेपालमा नौलो होइन । तर, मूल भन्सारको पार्किङ स्थलमा नै तस्करीका समान भरिएको गाडी राखेर भएको तस्करीको घटनाले भने धेरैलाई आश्चर्यमा पारेको छ ।

भन्सारको प्रज्ञापन पत्र नै नक्कली बनाएर अवैध कारोबार गरिरहेको तथ्य भैरहवा भन्सारमा फेला परेको हो। नक्कली प्रज्ञापन पत्र, बैंक भौचर बनाउने, एउटा समानको स्वघोषणा गरेर अर्को समान भन्सारबाट पास गराउने जस्ता गैर कानुनी धन्दाले गर्दा यति बेला भैरहवा भन्सार बदनाम भइरहेको छ ।

दिनहुँ जसो भन्सारमा अवैध क्रियाकलाप भइरहेको भन्दै स्थानीय स्तर, सामाजिक सञ्जाल र सञ्चार मध्यमहरूमा समाचार र टिप्पणीहरू प्रकाशित भइरहेका छन् । यसले गर्दा भन्सार कतै भैरहवा भन्सार तस्करहरूको अखडामा त  परिणत हुँदै छैन भन्ने आशङ्का समेत उब्जिएको छ।

पछिल्लो एक महिना भित्र भएका अवैध समान सहितको बरामदका तीन ठूला घटनाहरूले पनि भन्सारको बदनामीलाई बढवा मात्रै दिएका छैनन् बरु त्यहाँ अनियमितता हुने गरेको भन्ने आरोप समेत पुष्टि हुँदै गएको छ।  प्रज्ञापन पत्रमा एकथरि विवरण भर्ने र सवारी साधनमा अर्को थरी समान भन्सारको मूल गेटबाटै निकासी गर्ने गरेको घटनाले भन्सारको सुरक्षालाई पनि गिज्जाईरहेको छ ।

भदौ १३ गते बुधवार राती भारतीय नं प्लेट एचआर ३८ एसि ७४९९ को ट्रकमा प्रज्ञापन पत्रमा उल्लेख गरेको भन्दा फरक विवरणको समान फेला पर्‍यो । भन्सार प्रज्ञापन पत्रमा क्यामिक पाउडर स्व–घोषणा गरेर ल्याएको ट्रकको ढालाको बाहिर एक तहमा क्यामिकल पाउडर त्यसको भित्र कपडाको १५ बन्डल फेला पर्‍यो । तर, यस्तो यो घटना भैरहवा भन्सारमा नौलो होइन ।

भदौ १० गतेको घटना झन् रोचक छ । १० गते राती भन्सारको स्टोर नं ३ अगाडी करिब १० बजे भारतबाट आएको मालवाहक ट्रक डिएल १ जिसी ४४४६ प्रवेश गर्‍यो । प्रज्ञापन पत्रमा औषधी घोषणा गरिएको ट्रकमा ३७ बन्डल कपडा भेटियो । रातीको करिब ११ बजे उक्त ३७ बन्डल कपडा स्टोर नं ३ अगाडी सिसिटिभीको निगरानीमा राखियो । राती छोडेको ३७ बन्डल कपडा मध्ये १९ बन्डल कपडा भदौ ११ गते बिहानसम्ममा उक्त स्थानबाट हरायो । भन्सारमा  हल्लीखल्ली भयो । खोज्दै जाँदा जे भेटिएको अर्को घटनाले त भन्सार कर्मचारी, सुरक्षा संयन्त्र र पार्किङको जिम्मा पाएको अन्नपूर्ण टर्मिनल माथी नै प्रश्न चिन्ह खडा गर्छ ।

त्यो हो, ७२ घण्टे फेल भएर भन्सार परिसर बाहिर बाट नै प्रक्रिया पुरा गरेर जानुपर्ने युपी ८४ टी ५३४७ नं ट्रक परिसरमा फेला पर्‍यो । भन्सार भित्र खाली भारतीय ट्रक कसरी प्रवेश गर्‍यो ? यसको उत्तर अझै सम्म प्राप्त भएको छैन ।

उक्त घटना कसरी सम्भव भयो भन्ने जानकारी दिन भन्सार अधिकृत र कर्मचारीले दिन मानेनन् । यसले भैरहवा भन्सारमा तस्कर र कर्मचारीको कस्तो निकट सम्बन्ध छ भन्ने पुष्टि हुन्छ ।

भदौ ११ गते नै अर्को पनि घटना भयो। घटनाको प्रकृति उस्तै छ । तर, बस्तु र विवरण मात्रै फरक । सोही प्रकृतिको घटना गत भदौ ८ गते पनि भएको थियो । ८ गते भैरहवा भन्सारको गेट नं १ मा भारतीय नं प्लेट यूपी ५३ ओटी ५७८ नम्बर को मालवाहक ट्रक प्रवेश गर्ने तयारी गर्छ । भन्सारको पार्किङ यार्डको जिम्मा लिएको अन्नपूर्ण टर्मिनलको इन्ट्री रजिस्टरमा चढाउनको लागी समान घोषणा गर्न लगाउँछ । त्यहाँ प्लाष्टिकको दाना भनिन्छ । भन्सार कार्यालयले सूचनाको आधारमा उक्त गाडी खोलेर हेर्छ तर भित्र कपडा भेटिन्छ । सोही दिन अर्को गाडी नेपाली नं प्लेट लु ५ ख ३३६ नम्बरको मालवाहक ट्रकमा पनि प्लास्टिकको दाना भनेर कपडा र काजु ल्याएको फेला पर्छ । यो घटनामा छानबिन हुँदा हुँदै ट्रकका चालक र सहचालक गाडी छोडेर भागिसकेका हुन्छन् ।

त्यसअघि तर यसै महिना घटेको अर्को घटना हो जेठ ६ गतेको । युपी ५३ ए एफ टी ५४५२ नं.को पिक गाडिबाट नक्कली प्रज्ञापन पत्र भरी माछा बाहिरियो । ३ हजार ८ सय किलो ग्राम माछा सशस्त्र प्रहरीले चेकजाँच गर्दा भन्सार नभएको पाइएको थियो । असार २५ गते सोमबार भारतबाट नेपाल भित्रिएको प्याज सहितको युपी ३१ टी ९९४१ नम्बरका मालवाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले रोकेपछि घटना बाहिरियो । यी घटनाहरूले भैरहवा भन्सारमा अनियमितता बढ्दो छ भन्ने पुष्टि गर्छ ।

भन्सार अधिकारीहरुले समस्या आएपछि जुनियर कर्मचारीलाई कारबाही गर्ने, एजेन्टलाई कारबाही गर्ने गरेको देखिन्छ तर नक्कली प्रज्ञापन पत्र बनाउने, सरकारी कागजातको किर्ते गर्ने हिम्मत तल्लो तहबाट मात्रै हुँदैन भन्ने आम बुझाई छ ।  भैरहवामा भन्सार सुरक्षाको जिम्मा लिएको कम्पनी र सुरक्षाकर्मिहरुलाई थप जिम्मेवार बनाउन अझै पहलकदमी लिनुपर्नेमा त्यसो पनि नगरको देखिएको छ।

उल्लेखित घटनाहरूले के देखाउँछन् भने भैरहवा भन्सारमा खुलेआम अवैध क्रियाकलाप भईरहेकोछ । कुनै पनि एजेन्टले भन्सार अधिकृत वा चेकजाँचमा खटिएको कर्मचारीको सहयोग नभएसम्म प्रज्ञापन पत्रमा नक्कली विवरण भर्ने हिम्मत गदैन । तर मिडियाले सूचना नपाउँदासम्म मिलीभगत रुपमा पास भइरहेको अवैध समान सूचना लिक भएमा वा मिडियाले समाचार प्रकाशित गरेको अवस्था भने भन्सार एजेन्टलाई बलिको बाख्रा बनाउने र घटना सामसुम पार्ने प्रणालीको विकास भइरहेको छ ।

भन्सारभित्र  भइरहेको अवैध क्रियाकलापले एकातिर भन्सारको राजस्व सङ्कलन दर घटिरहेको छ भने अर्कोतिर व्यापार घाटा बढाउन पनि भूमिका खेलको देखिन्छ । मूल भन्सार नाकामा दिनहुँ जसो हुने यी घटनाले राजस्व चुहावट नियन्त्रणमा समेत समस्या पैदा गरिरहेको छ । राजस्व चुहावट नियन्त्रण समिति रुपन्देही संयोजक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भन्सार भित्रबाट हुने राजश्व चुहावट नियन्त्रणका लागि भन्सार प्रमुख नै जिम्मेवार हुने बताउँछन् ।

समग्र जिल्लाको सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्सारको सुरक्षा चुस्त राख्न आवश्यक सहयोग गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस