काठमाडौं । ललितपुरमा ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको छ । आगामी असोज १३ र १४ गते पाटन सङ्ग्रहालयमा नेपालमा उत्पादित कपडा, डिजाइनर र सीपकर्मीलाई लक्षित गरी ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको हो ।
ललितपुर महानगर अन्तर्गत नेपाल घरेलु तथा साना उद्योग महासंघ र अबिर डिजाइन हबको संयुक्त आयोजनामा दुई दिनसम्म महोत्सव हुने भएको हो । जहाँ फेसनका पोसाक, हस्तकलाका सामग्री, फेसन, लाइफ स्टाइल, क्रोक्टेड, (कुरूप)ले बुनेको, केनीवेर (काती)ले बुनेको, संगीतका कार्यक्रम तथा खानाका साथै अन्य लुगाहरू प्रदर्शनीमा राखिने भएको छ ।
दुई दिने महोत्सवमा नेपाली उत्पादन, कला र फेसन डिजाइनरहरूको नयाँ शैलीमा बनाइएका पोसाकहरू प्रदर्शनीमा राखिने अबिर हबका निर्देशक बिनी बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार देशभरका विभिन्न ठाउँका ५० बढी उद्यमीका सामग्रीहरू राखिन्छ । नयाँ डिजाइनहरू, सीपकर्मी र नयाँ उद्यमीहरूको समेत उपस्थिति हुनेछ । अबिर डिजाइनर्स हब नेपालकै पोसाक ब्रान्ड रहेको बज्राचार्यले जानकारी दिइन् ।
ब्रान्ड नेपाली वातावरण, सामाजिक दायित्व र मूल्य मान्यताप्रति सजग रहेको उनको भनाइ छ । ‘प्राकृतिक रेशाबाट निर्मित कपडाको पोसाक बनाएर बिक्री गरिन्छ । स्थानीय सीपको प्रयोग गरेर पुनः प्रयोगमा ल्याएर डिजाइन गरी कम्पनीले बिक्री गर्ने गरेको छ’, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस