aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ भदौ २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।  

परिवार कलयाण् महाशाखाका डा. विवेक लाल दासका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो । आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने भएका छन् । 

मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको छ । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ । कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने छ । 

खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तानक्यान्सर हुने गरेको छ ।  

सन् २०२२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले जानकारी दिए । उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस