aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिनर्जी पावर डेभलपमेन्टको हकप्रदमा करिब ४५ प्रतिशत आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
सिनर्जी पावर डेभलपमेन्टको हकप्रदमा करिब ४५ प्रतिशत आवेदन

काठमाडौं । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि करिब ४५ प्रतिशतमात्र आवेदन परेको छ । भदौ २१ गतेसम्मको तथ्याङ्क अनुसार ३८ हजार ४७८ जना शेयरधनीहरूले १८ लाख १२ हजार ६२९ कित्ता हकप्रद शेयर खरीद माग गरेका छन् । कम्पनीले भदौ २४ गतेसम्मका लागि मात्र यो हकप्रद शेयर विक्रीमा ल्याएको हो । 

हकप्रद शेयर खरीदका लागि परेको आवेदनको अवस्थालाई हेर्दा बाँकी रहेको अवधिभित्र सम्पूर्ण कित्ता माग हुने सम्भावना कम देखिन्छ । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुदैं गएको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । 

शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँ एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धिधत मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस