aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह
फाइल फोटो

हेटौँडा । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । आज आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेका हुन् । 

“हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भने । सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

“वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ”, उनले भने । सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस