aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ भदौ २०८०
पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटे । मन्त्री बस्नेतले उहाँहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए । 

“उनहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट छन”, मन्त्री बस्नतेले भने, “वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ । अहिले सोहीअनुसार चाप बढेको छ । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।”

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । “उनको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उन थप केही दिन चिकित्सकको निगरानीमा बस्छन”, उपकुलपति प्रा डा बस्नेतले जानकारी दिए । 

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका  मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस