काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिए । नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरूबिचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गरे । समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा. भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए ।
उक्त सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित ९ वटा विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र ९ वटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलहरूको समग्र शैक्षिक स्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस