aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एकै पालिकाका १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा, कामकाज ठप्प

  • रासस
    रासस
  • मंगलबार, २६ भदौ २०८०
एकै पालिकाका १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा, कामकाज ठप्प

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टले अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताए ।

‘प्रशासनका प्रमुख कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ’, उनले भने, ‘लेखा शाखामा एउटा पनि कर्मचारी थिएनन्‌ । अहिले एक जना लेखापाल कोलेनिकाबाट पठाएको छ ।’ उनले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य कामबाहेकका काम हुन नसकेको बताए ।

गौलीले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताए । ‘अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने, ‘कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस