aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हतियार किन्न रूस पुगे किम जोङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
हतियार किन्न रूस पुगे किम जोङ

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रूसी भूमिमा  प्रवेश गरेको रूसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । 

नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रूसी रेलवे पटरीमा तानेको तस्बिरमा देखिन्छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रूसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो ।

रूसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएका छन् । चार वर्षपछि उनले गरेको पहिलो विदेश विदेश भ्रमण हो ।

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुगेका छन्‌ । सशस्त्र फौजका साथ उनी यात्रामा छन्‌ । उनका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन् ।

द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ ।  राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा हुनुहुन्छ ।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू र उत्तर कोरियाले रूसबाट उपग्रह र आणविक शक्तिबाट सचालन ह्न पनडुब्बी प्रविधि चाहेको छ । यद्यपि क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी सञ्चारमाध्यमलाई दुई नेताले ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताएका छन् । “छिमेकीका रूपमा यो स्पष्ट छ  हाम्रा देशबीच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ जुन सार्वजनिक खुपतको विषय हुनु हुँदैन । छिमेकी देशका लागि सामान्य हो,” उनले भनेका छन् । 

दुवै नेताबीचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारहरूलाई बताए । उनले भने, ‘उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन दुई देशको हितमा त्यो केन्द्रित हुनेछ ।’

अमेरिकाले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस