
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) मुछिएको ६० किलो ७१८ ग्राम सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले सोही समूहबाट थप ३०२ किलो सुन तस्करी भएको दाबी गरेको छ ।
चिनियाँ, नेपालका माओवादीनिकट र भारतीय तस्कर समूहले मोटरसाइकलका पाटपूर्जामा लुकाएर ल्याएको सुन साउन २ गते सिनामंगलबाट बरामद गरिएको थियो ।
सोही सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुअघि पत्रकार सम्मेलन गर्दै सीआइबीले ६० किलो ७१८ ग्राम सुन भित्र्याउन समूहले नै थप ३०२ किलो सुन त्यसअघि नै भित्र्याएको जानकारी दिएको हो । सो तस्करी प्रकरणमा सीआइबीले रोल्पाकी माओवादी नेतृ अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।
तस्करीको सुन नेपाल भित्र्याउन माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ र माओवादी पूर्वकमाण्डर तथा पूर्वराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का एकाघरका सदस्य संलग्न भएको आरोप लागेको छ । तर, सत्तामै रहेको माओवादीले दबाब दिएपछि सीआइबीले उनीहरूलाई प्रतिवादी बनाएको छैन ।
त्यसअघि भेषमा लुकाएर ल्याइ तस्करी भएको ९ किलोभन्दा बढी सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा मुछिएका छन् । उनका छोरा राहुल महरा पक्राउ परिसकेका छन् । सुन तस्करीको दुई घटनामा तस्करबीच गठजोड भएको बताइन्छ ।
सीआईबी प्रमुख एआइजी किरण बज्राचार्यले यही समूहले पहिला ३०२ किलो र अहिले ६० गरी ३६२ किलो सुन भित्र्याएको पाइएको जानकारी दिएकी हुन् । ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड रुपैयाँ मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको उनले बताइन् ।
यो सुन तस्करी प्रकरणमा हालसम्म २३ नेपाली र ९ विदेशी गरी ३२ जना पक्राउ परेका छन् । १८ जना अझैसम्म फरार छन् । फरार हुनेमा १४ विदेशी र ४ जना नेपाली छन् ।
सुन तस्करीमा प्रकरणका प्रतिवादीहरूलाई सीआइबीले अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस