aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मकवानपुरमा चिकित्सक कुटपिटको विरोध, आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
मकवानपुरमा चिकित्सक कुटपिटको विरोध, आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । 

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । उक्त घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन् । 

जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उनले बताए । उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८  चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको जानकारी दिए । 

डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस