aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० भदौ २०८०
हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

काठमाडौं ।  काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना एकै परिवारका छन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । 

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले जानकारी दिए । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस