काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् । क्यापिटकै व्यवस्थापनमा सञ्चालित एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते एक दिन बुक क्लोज गर्न लागेका हुन् ।
बुक क्लोजको आधारमा दुबै योजनाका अघिल्लो कारोबारदिनसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट एनएमबी फिफ्टीले कर समेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि कर समेत १५ प्रतिशतनै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाको रुपमा सञ्चालित एनएमबी फिफ्टीले १२ करोड ५० लाख इकाई जारी गरेको हो ।
योजनको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १२ रूपैयाँ २२ पैसा रहेको छ । त्यस्तै सात बर्षे अवधिकै बन्दमुखी प्रकृतिको एनएमबि हाईब्रिड फण्ड एल–१ ले भने १० करोड इकाई जारी गरेको थियो । साउन मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रूपैयाँ ६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस