aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

किन बढ्यो भारत-क्यानाडा तनाव, अब के होला यी कम्पनीको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
किन बढ्यो भारत-क्यानाडा तनाव,  अब के होला यी कम्पनीको अवस्था

विश्व बजारमा आफ्नो अलग पहिचान बनाएका दुई मुलुकहरु भारत र क्यानडा बीच अहिले सम्बन्ध बिग्रिएको छ । यी दुई देशबिचको सम्बन्ध निक्कै तिक्ततापूर्ण बन्दै जाँदा एक अर्का मुलुकमा गरेका ठूला लगानीको अवस्था के होला भन्ने चिन्ता बढेको छ।

आर्थिक सम्बन्ध निकै घनिभूत रहेका यी दुई देशहरु मध्ये क्यानाडाको भारतमा ठूलो लगानी रहेको छ । त्यहाँको पेन्सन फण्डको लगानी भारतमा रहेको हुँदा ती लगानी रहेका क्षेत्रको ब्यापार र स्थिती बारे पनि चर्चा शुरु भएको हो ।

भारतमा क्यानाडाको लगानी रहेका ठूला ब्यापार क्षेत्रबारे चर्चा गर्नु अघि खासमा किन बढ्यो दुरी भन्ने बारे केहि चर्चा गरौँ ।

यी दुई मुलुक बीच असमझदारी बढेको केही वर्ष बितिसकेको छ । भारतीय मूलका क्यानडाका नागरिक शिख नेता ‘हरदीप सिंह निज्जर’को हत्यामा भारत सरकारको संलग्नता रहेको हुन सक्ने गम्भीर आरोप क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि पछिल्लो पटक यी मुलुकहरू बिचको सम्बन्ध थप चिसिएको हो । सोही प्रकरणलाई लिएर क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई पनि देश निकाला गरिसकेको छ । त्यसको २४ घण्टा नबित्दै प्रतिवादमा भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न आदेश दिए पछी क्रिया प्रतिक्रिया व्यापक बनेका छन् ।

यो घटनाबारे अमेरिका र अस्ट्रेलियाले समेत बोलेपछि अब यी मुलू बीच बढ्दो दुरी दुई देशमा मात्र सिमित नरहने पनि देखिएको छ ।

क्यानडा निवासी सिख अभियन्ता हरदीपलाई भारत सरकार ‘आतंकवादी’ मान्छ । उनले भारतमा आतङ्की गतिविधिहरू सञ्चालन गर्दै आएको भारत सरकारको आरोप छ । उनको गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सुरेइ शहरको एक सिख गुरुद्वारा अगाडि गोली हानी हत्या गरिएको थियो । सो घटनाबारे एक अर्का मुलुकबीच भएको आरोप-प्रत्यारोप चर्कँदै जाँदा भारत–क्यानडा सम्बन्धमा निक्कै ठूलो दरार बनिसकेको अवस्था छ ।

सन् २०१५ मा क्यानडामा ट्रुडोले सत्तारोहण गरेयता भारतले बारम्बार ‘ट्रुडो सरकार खालिस्तान समर्थकहरूप्रति नरम रहँदै आएको आरोप लगाउँदै आएको छ । क्यानडामा भारत विरोधी गतिविधिहरू सञ्चालन हुने गरेको तर त्यसलाई रोक्नेतर्फ क्यानडा सरकारले खासै पहल नगरेको भारतको आरोप छ । केही समयअघि भारतको नयाँ दिल्लीमा भएको जी२० को बैठकमा भाग लिन आएका क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको भेटवार्तामा पनि भारतीय प्रधानमन्त्रीले त्यो कुरालाई गम्भीर रुपमा उठाएका थिए ।

तर, क्यानडाले त्यसलाई आफ्नो आन्तरिक मामिलामा भारतीय हस्तक्षेपका रुपमा लिएको देखिन्छ । भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि ट्रुडोको अफिसले जारी गरेको प्रेस नोटमा मोदीसँगको वार्तामा ट्रुडोले ‘कानुनको शासन, प्रजातान्त्रिक मान्यताहरू र राष्ट्रको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने कुरालाई गम्भीरतापूर्वक उठाएको जानकारी दिएका थिए । भारतसँगको कुराकानीमा ‘क्यानडाले  सदैव वाक स्वतन्त्रता,  विवेकको स्वतन्त्रता, शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने र त्यो क्यानडाको लागि जरुरी रहेको' कुरा पनि उठाएका थिए ।

बिबादको आर्थिक प्रभाव

भारत–क्यानडाबिचको यो तनाव नयाँ होइन । सन् २०१५ देखि नै यो चर्कँदै आएको छ र अहिले त्यसले चरम रूप लिएको मात्रै हो । तनावकै  कारण गत सालको सेप्टेम्बर १ मा हुने भनिएको भारत–क्यानडाबिचको स्वतन्त्र व्यापारसम्बन्धी  सम्झौता वार्ता पनि रोकिएको यहाँ स्मरणीय छ । त्यसैगरी, जी२० सम्मेलनको बेला भारत–क्यानडाबिच बढेको असमझदारीबिच यसअघि नै क्यानडाले आगामी अक्टोबरमा हुने भनेको क्यानडाको भारतसँगको  व्यापार मिसन पनि स्थगित गरिसकेको छ ।

त्यसो त, भारत र क्यानडाबिचको व्यापारको आकार पनि त्यति ठूलो चाहिँ होइन । सन् २०२२ मा भारतले क्यानडामा ६.४० अर्ब  अमेरिका  डलरको सामान निर्यात गरेको थियो भने त्यहाँबाट ४.१० अर्ब अमेरिकी  डलरको आयात गरेको थियो । क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिका हो । खुल्ला व्यापार सम्झौता गरेको यो मुलुकसँग गत साल क्यानडाको १.२ ट्रिलियन अमेरिकी  डलरको व्यापार भएको थियो । यो भनेको क्यानडाको कुल विश्व व्यापारको दुई तिहाइ हिस्सा हो ।

भारतमा क्यानाडाको लगभग डेढ लाख करोड रुपयाँ लगानी रहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । क्यानडा पेन्सन फण्ड इन्भेष्टमेन्ट बोर्डले कोटक महिन्द्रा बैंक, अनलाइन फुड डेलिभरी प्लेटफर्म जोमैटो, अनलाइन पेमेन्ट सिस्टम प्लेटफर्म पेटिएम, टेक कम्पनी विप्रो लगायतमा लगानी गरेको छ ।

त्यसबाहेक भारतीय फेसन एण्ड ब्युटी ब्राण्ड नायका, लजिस्टिक सर्भिस कम्पनी डेल्हिवरी र इन्दस टावरमा पनि क्यानाडाको लगानी रहेको छ । अब शेयर बजारमा समेत सुचिकृत ती कम्पनीको बजार मुल्यमा के कस्तो हलचल आउने हो र यसले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस