
काठमाडौं । हिन्दुहरुको महान चाड हो, दशैँ । यो चाडमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने गर्छ । मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्वका रुपमा मनाइन्छ, दशैं । यो देश/विदेशबाट आफन्तजन जम्मा हुने मौका हो । मान्यजनबाट आशीर्वाद थाप्ने र शुभेच्छा साटासाट गर्ने अवसर पनि हो, यो ।
नेपालमा दशैंको गहिरो प्रभाव छ । धार्मिक आस्था र विश्वाश मात्र नभएर यसको सामाजिक आर्थिक सम्बन्ध र प्रभाव पनि महत्वपूर्ण छ । सानो मुलुक भएपनि यहाँ दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । देशको पूर्वी भागमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिका थाप्ने चलन छ । तर, पश्चिममा भने धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै अन्तर छ ।
नेपाल बाहेक भारत, बङ्लादेश, बर्मा, मलेसिया जस्ता थुप्रै देशमा दशैँ मनाइन्छ । तर, सबै ठाउँको चलन भने उस्तै छैन । हामीले आफ्नो मात्रै जस्तो गरि मनाउने चाड हामीलाई नै अनौठो लाग्ने गरी संसारका फरक ठाउंहरुमा फरक फरक ढंगले मनाइन्छ ।
हेरौं, कहाँ कहाँ कसरी मनाइन्छ त दशैं :
१. काश्मीरमा लगातार नौ दिन उपवास
नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ, त्यहाँ । त्यसैले बालबालिका बाहेक घरका सबै सदस्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन 'खीर भवानी देवी'को पूजा गरिन्छ ।
२. उत्तर भारत
उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीमा जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।
३. हिमाञ्चल प्रदेश
हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानीय देवता रघुनाथको पनि भव्य पुजा गर्छन् । हजारौंको सहभागीतामा झाँकी सहित झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गर्ने चलन छ । यात्रामा नाँचगान पनि गरिन्छ ।
४. बंगलादेश र पश्चिम बंगाल
दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशका हिन्दुहरू पनि पाँच दिनको नै दशैं मनाउँछन् । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।
५. महाराष्ट्र
महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।
६. तामिल नाडु
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन/तीन दिन छुट्टा छुट्टै देवीको पुजा गर्छन् । सुरुको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।
७. गुजरात
गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ, दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी यो नाच नाचिन्छ ।
प्रतिक्रिया दिनुहोस