aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

शुरु भयो त दशैँ बिदा, जाने होइन घुम्न ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
शुरु भयो त दशैँ बिदा, जाने होइन घुम्न ?

काठमाडौं । पछिल्लो समय लामो विदालाई सदुपयोग गर्दै नेपालीहरूमा घुमफिर गरी आफुलाई 'फ्रेस' बनाउने संस्कृति बढ्दै गएको छ । नयाँ ठाउँ र नयाँ दृश्यमा रमाउने वातावरणको खोजीमा ब्यस्त जीवन यापन गरिरहेकाहेरु हुन्छन् । नयाँ ठाउँको बेग्लै अनुभुति हुने गर्दछ । आर्थिक रूपले सम्पन्न व्यक्तिहरू विदाको सदुपयोग गर्न विदेश पुग्छन् भने मध्यम वर्गिय व्यक्तिहरू आफ्नै देशमा घुमेर रमाइलो अनुभुती गरिरहेका हुन्छन् ।

भर्खरै सुरू भएको नेपालीहरुको महान चाड दशैं लक्षित विदामा घुम्ने योजना धेरै मानिसहरूले गरिरहेका हुन्छन् । सबै मानिसहरूले आफ्नो क्षमता अनुसार घुम्ने रमाउने योजना बनाइरहेका हुन्छन् । घुमेर नयाँ अनुभव गर्नको लागि विदेश नै जानु पर्छ भन्ने होइन नेपालमा पनि कयौं नयाँ स्थानहरू रहेका छन् जहाँ हामी परिवार र साथीभाइहरू संग घुम्न सक्छौं ।  

नेपालीहरुको घुम्ने चलन बढेसँगै अधिकांश ट्राभल एजेन्सीजहरुले आकर्षक प्याकेजको घोषणा गरेको छन् । तपाईको बजेट अनुसार काठमाडौं नजिकै रहेको नगरकोट, धुलिखेल, ककनीलगायतका स्थानहरुमा जान सक्नुहुनेछ । यदी लामो बिदामा हुनुहुन्छ भने मुस्ताङ, रारा, घलेगाउँ बन्दीपूर, अन्नपूर्णबेस क्याम्प, पोखरा, बर्दिया, चितवनको सौराहा, ईलाम, दार्जि्लिङ–सिक्किमलगायतका स्थानमा जाने हो भने बिभिन्न ट्राभल एजेन्सीजहरुले तपाईलाई सहयोग गर्ने छन्  । जहाँ एजेन्सीजहरुले साढे ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्ममा तपाईलाई घुमाउन सक्नेछन्  ।

त्यस्तै धार्मिक स्थलहरुमा जाने हो भने मुक्तिनाथ, दोलखाको भिमेश्वर, कालिञ्चोक, पाथीभरा, सुदुर पश्चिमको बडीमालिका, बाग्लुङको कालिका मन्दिर, काभ्रको पलाञ्चोक भगवतीलगायतका रहेका छन । जहाँ तपाई सजिलै जान आउन सक्नु हुनेछ । आफ्नो समय अनुसार मुस्ताङको लागि ४ रात ५ दिन देखि ७ दिन सम्मको समय विताउन सक्नु हुनेछ । तर अन्नपूर्ण बेस क्याम्पको लागि भने कम्तिमा पनि ७ रात ८ दिनको समय लाग्ने छ । त्यस्तै अन्य स्थानको लागि पनि सोही अनुसार समय मिलाउनु पर्ने हुन्छ ।

 घुम्नका लागि यो बेला विदेश नभै स्वदेशमै रमाइलो गर्नु उचित हुन्छ । केही गन्तव्यहरूबारे थाहा पाई राख्नुस :

पोखरा–लुम्बिनी–सौराहा  

केही दिनको बिदामा घुम्न उपयुक्त स्थान हुनसक्छ, काठमाडौं–पोखरा–लुम्बिनी–सौराहा । स्वदेशी विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात स्थान हुन्, यी । काठमाडौंबाट पोखरा गएर एकरात दुई दिन बसेर मुख्य स्थान घुमेपछि रात्रि बस चढेर लुम्बिनी जान सकिन्छ । काठमाडौंबाट सार्वजनिक सवारी साधन पनि पोखरा सजिलै पुग्न सकिन्छ । साथै निजी सवारी साधनमा जाँदा पनि सडकको अवस्था राम्रो भएकाले पोखरा पुग्न धेरै सयम लाग्दैन । हवाइ सेवामार्फत त झन १५ मिनेटमा नै पोखरा पुग्न सकिन्छ ।

अहिले लुम्बिनी जाने उपयुक्त मौसम हो । त्यसपछि सौराहा आएर थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सूर्यास्तको दृश्य, अनि जंगलसफारीका लागि प्रख्यात छ चितवन । यतिमात्र नभई चराचुरुङ्गी अवलोकनका लागि पनि चितवन उपयुक्त गन्तव्य मानिन्छ ।

यो ठाउँ मयुर, च्याखुरा, पानीहाँस र चखेवाको बथानसहित अन्य चराहरूको बसोबास थलो हो । शान्त र राष्ट्रिय निकुन्ज नजिकै भएकाले पनि बाघसमेत हेर्ने मौका मिल्न सक्छ ।  

भोटेकोसी र त्रिशूलीमा  र्याफ्टिङ

साहसिक जलयात्रा तथा ¥याफ्टिङका लागि 'नेसनल जोग्राफी च्यानल'ले समेत विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोसीलाई राखेको छ । पछिल्लो समय भोटेकोसीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ ।

काठमाडौंमा बसिरहेका छुट्टीको समयमा त्रिशूली र भोटेकासी नदीमा ¥याफ्टिङ गर्न आउने क्रम बढेको व्यावसायीहरूको भनाइ छ । यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरूले गरेका छन् ।

भोटेकोसी र त्रिशूलीमा दिनभरि  ¥याफ्टिङ गरेर साँझ आराम गर्न पनि सकिने तथा ¥याफ्टिङ गरेर यहाँबाट काठमाडौं पनि पुग्न सकिन्छ ।  माथिल्लो भोटेकोसी र तल्लो भोटेकोसीमा ¥याफ्टिङ  व्यवस्था गरिएको छ । ¥याफ्टिङका लागि माथिल्लो भोटेकोसी तल्लोभन्दा साहसिक मानिन्छ ।

माथिल्लो भोटेकोसीमा ¥याफ्टिङ  गर्दा केही कम अनुभवीलाई तल्लो भोटेकोसी उपयुक्त हुन्छ ।  त्रिशूली नदीमा परिवारसहित ¥याफ्टिङ गर्न सकिन्छ । त्रिशूलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरू ¥याफ्टिङका लागि आउने गरेका छन् । यो राजधानीबाट नजिकै र पहिलो पटक ¥याफ्टिङ गर्नेलाई पनि यो उपयुक्त गन्तव्य हो ।

रारा ताल

पछिल्लो समय पर्यटकको मन लोभ्याइरहेको छ, राराले । सुमन्द्री सतहबाट २९ सय ९० मिटरको उचाईमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ । रारा तालको लम्वाई ३ दशमलव २ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ । यो ताल कुल १० दशमलव ८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस तालमा विश्वका अन्यत्र नपाइने ‘स्नो टाउट’ प्रजातिका माछा पाइन्छन् । घामको किरणसँगै राराले आफ्नो रंग बदल्ने गर्छ । प्रकृतिको उपहारका रुपमा सृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा, जस्ता जन्तुहरुको साथै डाँफे र अन्य चरा चुरुङ्गीहरुको समेत देख्न पाइन्छ ।

रारा पुग्नका लागि हवाई तथा स्लथमार्ग दुबैको प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै निजी सवारी साधनमा जाने हो भने ताल  नजिकैसम्म पुग्न सकिन्छ ।

सार्वजनिक सवारी साधनमा जाने हो भने काठमाडौंबाट ३२ घण्टामा जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । खलंगाबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ भने त्यहाँबाट रारा पुग्न ५ घण्टा हिड्पर्नेछ । यसका साथै साना बसहरु रिजर्भ गरेर पुग्न सकिन्छ ।

मुस्ताङ

आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने स्थानमध्ये पर्छ, मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्नेगर्छन् । हिमालपारीका जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।

मुस्ताङमा अर्को रमणीय स्थल पनि रहेको छ त्यो हो मार्फा । जहाँ वरीपरी पहाडले घेरिएको छ भने बिचमा रहेको मार्फा गाउँ निकै सुन्दर रहेको छ । यहाँ पर्यटकका लागि चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट पनि छन् अझ मार्फा स्याउ उत्पादनको क्षेत्रमा प्रख्यात छ ।

मुस्ताङकै अर्को रमणीय स्थान हो, कागबेनी । जहाँ नेपाली फिल्म तथा गितहरुका लागि सुटिङ गर्ने क्षेत्र पनि हुन् यी । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल पनि हो, कागबेनी ।

नेपाल आउने बाह्य पर्यटकको पहिलो रोजाईमा पर्ने अन्नपुर्ण पदमार्ग समेत कागबेनीमै पर्छ । कागवेनीमा ७ सय वर्ष पुरानो काग छोंदें थुप्तेन साम्फेल लिड गुम्बा अवस्थित छ । प्राकृतिक सुन्दरताका हिसाबले पनि यो क्षेत्र निकै अगाडी रहेको छ ।

मनाङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीहरुका लागि एक महत्वपूर्ण तीर्थस्थल हो ।

मुस्ताङका यी रमणीय स्थानमा पुग्नका लागि बस रिजर्भ गरेर जानुपर्छ । त्यससँगै मुस्ताङ पुग्नका लागि पोखराबाट जोमसोमसम्म हवाइमार्ग पनि जान सकिन्छ । त्यसपछि पैदलमार्ग हुँदै जान सकिन्छ ।

पुनहिल पदयात्रा

दसैं बिदामा एक हप्ता छुट्टी मिलाउन सक्नेका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपुर मनोरञ्जन दिन्छ । पुनहिल पदयात्रामा बास बस्न समस्या छैन ।

पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाइडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाइडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

पोखराबाट नयाँपुलसम्म सवारीसाधनको सुविधा छ । नयाँपुलबाट सुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयाँपुलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।  

समुद्री सतहबाट २९०० मिटरमा उचाइमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्री सतहबाट ३ हजार २१० मिटर उचाइको पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छे, निलगिरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाइन्छ ।

पुनहिलको अर्को विशेषता धौलागिरीमा सूर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागिरीसहित माछापुच्छ«े र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरिको थकान भुल्न सकिन्छ ।

खप्तड

सुदुरपश्चिमको खप्तड जान काठमाडौंबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको बसयात्रा गरेपछि धनगढी पुगिन्छ । धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि बसमै आठघण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ ।

पैदलयात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ ।  हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्ची बाटो छ । त्यसका लागि रिजर्भ गर्नुपर्छ । सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन बिहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ ।

दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज क्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । बिहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ । त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न । बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न ।

ठूल–ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ । दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट सुरु हुन्छ खप्तडक्षेत्रको सुन्दर दृश्य ।

खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुराको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी–सालमुनिको यस क्षेत्रका आकर्षण हुन् । खप्तड यात्राको लागि काठमाडौंदेखि १० दिनको समय उपयुक्त हुन्छ ।

लाङटाङ

वरिपरि हिमालको बीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । ऐतिहासिक तथा धार्मिक रूपमा धेरै महत्व भए पनि गुम्बा भने जीर्ण अवस्थामा छ । यो जीर्ण गुम्बामा बौद्ध धर्मावलम्बीहरूको गहिरो आस्था छ । जुन गुम्बा हो, रसुवाको क्यानजेन गुम्बा ।

बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ । नेपालमा आउने विदेशी पर्यटकको तेस्रो रोजाइमा पर्छ लाङटाङ पदयात्रा । पर्यटकको रोजाइमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा ।
 
शिद्धबाबा

बुटवल र पाल्पाको सिमानामा पर्ने शिद्धबाबा मन्दिर यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र हो । यहाँ मन्दिरमा पूजाआजा गर्नेदेखि भारतको विभिन्न ठाउँमा पर्यटकहरू दैनिक घुम्नका साथै मन्दिरको दर्शन गर्न आउँछन् । मन्दिर तिनाउ नदीको तटीय क्षेत्रमा पर्छ । यहाँ दुवै तर्फबाट ठूल्ठूलो पहाडको खोचमा मन्दिर रहेकाले यहाँ शितल पाउन र घुम्नका लागि पनि उपयुक्त ठाउँ हो ।

सुपादेउराली

प्रदेशको अर्घाखाँची जिल्लामा पर्छ सुपादेउराली मन्दिर ।  शक्तिपीठ मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएकाले सधैं श्रद्धालु अनि घुमफिर गर्नेको घुइँचो लाग्छ । त्यस्ता ठाउँमा परिवार, साथीभाइ र एक्लै गएर पनि दर्शन गर्ने रुची भएका पनि मन्दिरमा गएर आनन्द लिन सकिन्छ । जिल्लामा धार्मिक र प्राकृतिक पर्यटकीयस्थल धेरै छन् ।

वरिपरि चट्टानले बनेका अग्ला २ पहाड । प्राकृतिक सुन्दरताले हराभरा पहाडको काखैमा रहेको मन्दिरको आस्थाले सबैलाई तान्ने गर्छ । हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयौंको संख्यामा भक्तजन आउने गर्छन् ।

स्वर्गद्वारी

प्युठानको स्वर्गद्वारी पर्यटकीय गन्तव्य मानिन्छ । स्वर्गद्वारी प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ ।  

परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान् ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभूको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । बैशाख पूर्णिमा, बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

विदेश भ्रमण

त्यस्तै विदेश सयर गर्ने रहर भएका नेपालीहरुका लागि समेत ट्राभल एजेन्सीहरुले साना ठूला प्याकेजको ब्यवस्था गरेका छन् । यो वर्ष पनि फुलपातिको दिन देखि मलेसिया  र थाइल्याड जाने नेपालीको संख्या ३० हजार देखि ३५ हजार,  युरोप अमेरिका जाने नेपालीको संख्या ५ देखि ७ हजार रहेको ट्राभल एजेन्सीहरू जनाएका छन् । नेपालको लागि भन्दा यो वर्ष पनि विदेश घुम्न जानेको संख्या उच्च रहेको छ ट्राभल एजेन्सीहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस