aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दशैंमा गाउँ रमायो, शहर भयो सुनसान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ असोज २०७६
दशैंमा गाउँ रमायो, शहर भयो सुनसान

 

काठमाडौं । नेपालीहरुको महान चाड दशैं सबैको घर आगनमा भित्रिसकेको छ । पहाडका पार्टी पौवा र सडकहरु सफा भइरहेका छन् । दशैंको लागि कोठाहरुमा नियमित पुजा पाठ तथा बली चढिरहेका छन् । लिंगे र चर्खे पिङमा सबै रमाइरहेका छन् भने सबैको घरको कुनामा जमारा पहेलपुर भएर हुर्किदैछ ।

परदेसीएकाहरु घर फर्किरहेका छन् । नाचगान र विभिन्न खेलकूद तथा साँस्कृतिक कार्यक्रम भइरहेका छन् । दशैं ठूलादेखि साना नानीबाबुहरुसम्मका लागि खुसीको पर्व बनेर नेपालको  कुना कन्दरामा प्रवेश गरिसकेको छ । चारैतिर रमाइलो, घमाइलो छाइरहेको छ । मौसम पनि न गर्मी र नत जाडोको ठिक्कको छ । पहाडको छेऊछाऊमा भएका घरहरु रङीचङी भएका छन् ।

रातो माटो, सेतो कमेरो र कालो माटो गरी तीन रंगका माटोले घरहरु रङाइएका छन् । खेतहरुमा धान झुलेर पहेलपुर भएका छन् । चराचुरुङीहरुको लर्को र मालचरीको धुइँरोले सबैलाई मोहित तुल्याएको छ । पाकेर पटपटी फुटेका काँक्रा, गिठाका अचार, अनि सेल र विभिन्न प्रकारका रोटी तथा केराको परिकार बनाउन सबैलाई भ्याइनभ्याई छ । तर, प्राय संधैं  भरीभराऊ र भीडभाड हुने शहरहरु भने अहिले सुनसान हुँदै गएका छन् । शहरमा दशैं नभित्रिएको होइन तर केबल घरघरमै सीमित छ ।

गाऊमा दशैंको रन्को नै बेग्लै हुन्छ । गाउँमा को आयो को गयो भन्नेदेखि सबैसँग भलाकुसरी हुन्छ । तर, शहरमा दशैं सुनसान छ । आधिभन्दा बढी शहरका मान्छेहरु आफ्नो पुख्र्यौली थलोमा दशैं मनाउन फर्किएका छन् । शहरमा अहिले सुरक्षाकर्मीहरुको मात्रै लर्को छ । शहरका एकाथरी मान्छेहरु घरभित्रै खानपीनमा मस्त छन् । बजार सुनसान हुन थालेका छन् । होटलहरु पनि सुनसान हुँदै छन् । सवारी साधनको आवतजावत पनि विस्तारै पातलिँदै छ । सुरक्षाकर्मीहरु भने चौकचौकमा रित्ता घरहरुको सुरक्षा दिइरहेका छन् ।

घटस्थापना शुरु भएसँगै दशैंमा घर र्फकनेहरुको चाप हृवात्तै बढेको छ । राजधानी लगायत देशका प्रमूख शहरहरुलाई झण्डै झण्डै शून्य जस्तै बनाएर मान्छे घर फर्किरहेका छन् । दशैंमा घर जानेले पैसा र सरसामान पनि उत्तिकै बोकेका हुन्छन् । राजधानी लगायत देशका प्रमूख शहरहरुमा घर भएका कतिले ढोकामा ताल्चा नै लगाएर गाउँ जाने गर्छन् । गाँउघरमा भेटघाट र खसीबोका र राँगा तथा कुखरा काट्ने, पिङ खेल्नेहरु जताततै भेटिन्छ ।

विशेषगरी आश्विनशुक्ल प्रतिपदाको दिन घटस्थापना गरी जमरा राखेर मनाउन शुरू गरिने यो पर्व दशमीको दिन विसर्जन गरी मान्यजनहरूको हातबाट शुभाशिषसहित टीका र जमरा लगाएपछि समाप्त गरिन्छ । तर, कतैकतै त्यसपछि लगत्तै आउने पूर्णिमाको दिनसम्म पनि टीका र जमरा लगाई आशीर्वाद लिने चलन छ ।

असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले मनाइने यस पर्वको शास्त्रीय महत्व जति छ धार्मिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व पनि आफ्नो स्थानमा त्यति नै छन् । सानालाई शुभाशिष दिने र ठूलाबाट लिने परम्पराले यदि कोही कसैमा वर्ष्िदनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्तहरू र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव बृद्दि गर्ने पर्वको रूपमा समेत लिन सकिन्छ ।

दशैंले घर, परिवार, टोल, छिमेक र आफन्तजनहरूबीच द्वेष र कलहको तुष फाली प्रेम र सद्भाव जगाउँछ । सम्भवतः संसारमा यति बढी विविध पक्षको धनी पर्व अन्त कतै पनि पाउन सकिन्न ।

प्रतिक्रिया दिनुहोस