
काठमाडौं । आज महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन । नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । महाअष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरि नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गर्ने चलन छ । आजको दिन शक्तिपीठ, दशैंघर अनि विभिन्न मन्दिरमा विशेष घुँईचो रहन्छ ।
अष्टमीको मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । महाअष्टमीको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ। सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गरेको इतिहास छ । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् भन्ने किम्बदन्ती छ ।
शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि महाअष्टमीको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।
महाअष्टमीको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।
त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्तामाई, गहवामाई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।
काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।
वलि दिने कुराको आजभोली चौतर्फी रुपमा विरोध हुन थालेको छ, पशु अधिकारसंग सम्बन्धित संघ/सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् ।
चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं । अहिले आएर वलि दिने कुरामा धेरै कमी आएको पाइएको छ । विशेषतः दशैंमा खसी काट्नैपर्ने, ज्वाँइपाहुनालाई मासु खुवाउनैपर्ने चलनलाई सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । जुन अहिले हट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस