aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए । 

पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा सङ्लग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई शुक्रबार बिहान काठमाडौँबाट पक्राउ गरेको छ । यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस