
काठमाडौं। नेपाल र चीन बीच हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)अघि बढाउन आवश्यक परियोजना कार्यान्वयन योजनामा सम्झौता नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आज असोज ६ गते देखी हुने चीन भ्रमणको क्रममा सो सम्झौता हुने अपेक्षा चीनले गरेको थियो ।
नेपालले बीआरआई अन्तर्गत अनुदान पाए त्यस्तो अनुदान लिने तर ऋणमा कुनै पनि परियोजना नलिने भएको हो । यसको अर्थ अब नेपाल बीआरआइमा सहभागी नहुने भन्ने हुन्छ किनकि बीआरआईको आधारभूत मान्यतामा नै अन्तर्गत कुनै पनि प्रकारको अनुदानको परिकल्पना गरिएको छैन ।
नेपालले बीआरआई अन्तर्गत अनुदान चाहियो भन्नुको अर्थ हामि बीआरआईमा सहभागी हुन चाहँदैनौँ भनेको रुपमा चीनले बुझ्ने जानकारहरू बताउँछन् । नेपाल चीन अध्ययन केन्द्रका पुर्व अध्यक्ष मदन रेग्मी भन्छन्, “अध्ययन गरे हुन्छ । यस अन्तर्गतका कुनै पनि योजना अनुदानमा आएको छैन र नेपालको लागि अनुदानको रूपमा आउने कुनै सम्भावना देखिँदैन । यो थाहा पाएर पनि बीआरआईका परियोजना अनुदानमा लिन खोज्नु सीधै हामीलाई बीआरआई अन्तर्गतको कुनै पनि योजनामा लगानी चाहिन्न भनेको हो ।“
त्यसो त प्रधानमन्त्री प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना लागु गर्ने सम्बन्धमा कुनै नयाँ र ठोस निर्णय लिन सक्दैनन् भन्ने कुरा थाहा पाएर नै चीनले उनलाई बेवास्ता गर्दै आएको थियो । त्यसैले उनी औपचारिकताका लागि सबै एसियाली राष्ट्र प्रमुखलाई एसियाली खेलकुदको उद्घाटन सभामा उपस्थित हुन चीनले निम्तो दिने क्रममा छुटाउन नमिलेर दिएको निम्तोलाई नै अवसरको रुपमा प्रयोग गर्दै चीन गएका हुन् ।
नेपाल बीआरआई सम्झौताबाट भाग्दै छ भन्ने कुरामा वर्तमान सरकारको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री रहेका बेला २०७८ साल चैत्र ११ देखी १३ गतेसम्म नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ विदेश मन्त्री वाङ स्पष्ट भएर फर्केका थिए । देउवाले नेपालले ऋण नलिने तर बीआरआई अन्तर्गत अनुदान पाए त्यो चाहिँ स्वीकार गर्ने कुरा बताएर पठाएका थिए ।
त्यस बेला भएका नौ वटा सम्झौतामा कुनैपनी बीआरआईसँग सम्बन्धित थिएनन् । अहिले सरकारको चाबी बोकेर बसेका देउवाको त्यस बेलाको अडानमा कुनै परिवर्तन आएको छैन । त्यसैले उनले अह्राए अनुसार मात्र गर्ने अख्तियारी लिएर सरकार प्रमुख बनेका प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन उनको आदेश मान्नुपर्ने हुन्छ । थप भनिरहनु आवश्यक छैन कि देउवा भारत-अमेरिका परस्त नेताका रुपमा चिनिन्छन् भने प्रचण्ड सत्तालोलुप पात्र हुन् ।
आफ्नो चीन यात्रालाई औपचारिक र राजकीय रहेको भ्रम सिर्जना गर्ने ध्येयमा रहेका प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिवार दिउँसो ४ बजे भेटको समय तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। यताबाट जम्बो टोली बोलाएका प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबिच औपचारिक द्विपक्षीय भेट बेइजिङमा सोमबार बिहान १० बजेका लागि तय भएको छ।
प्रतिक्रिया दिनुहोस