
काठमाडौं । नेपालमा आफ्नो भूमिका कमजोर पारिएको महसुस गरेको भनिएको चीनले काठमाडौंलाई विकासमा वृहत्तर रणनीतिक सहयोग गर्ने जनाएको छ ।
एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुन शनिबार चीनको हाङ्जाओ पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग विकास रणनीतिमा सहकार्य गर्न आफ्नो देश इच्छुक रहेको बताएका हुन् । नेपाल मामिलामा चिनियाँ राष्ट्रपति सीले उल्लेख गरेको ‘वृहत्तर रणनीतिक सहकार्य’ लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बेल्ट एण्ड रोड इनिसिएटीभ -बीआरआइ) सम्झौतामा हस्ताक्षर गरे पनि दुबै देशले नेपालमा यस अन्तर्गत उल्लेख्य परियोजना अघि बढाउन नसकिरहेका बेला चिनियाँ राष्ट्रपति सीले काठमाडौंसँगको सम्बन्धलाई आर्थिक कूटनीतिका माध्यमबाट बलियो बनाउन खोजिएको देखिएको छ । यसको छनक दिन सीले नेपालका प्रधानमन्त्री दाहालसँगको छलफलमा चीनका वरिष्ठ नेता चाइ छी, दिङ सुएङ, वाङ यी र शेन यिछिन लगायतका वरिष्ठ नेताहरूलाई समेत सहभागी गराएका छन् ।
विश्व अर्थव्यवस्थाकै नेतृत्व गर्दै गरेको चीन नेपालको उत्तरी छिमेकी हो । चीनले आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा भारत र थपमा अमेरिकामाथि नेपालको निर्भरता कम गर्न खोजिरहेको छ ।
पूर्वी, दक्षिणी र पश्चिमी सीमा भारतसँग साझेदारी गरेको भूपरिवेष्ठित मुलुक नेपालले निकै अघिदेखि चीनसँग सडक तथा रेलमार्गमार्फत नियमित सम्पर्क स्थापित गर्न खोजिरहेको छ । भूपरिवेष्ठित देश भएकाले नेपालले धेरैजसो आयात भारतबाट गर्ने गरेको छ । नेपालको यही प्रयासमा सघाउने प्रतिबद्धता चिनियाँ राष्ट्रपति सीले गरेका त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा चिनियाँ संस्थापनले पूर्वाधार कनेक्टिभिटी र पारवहन यातायात सहयोगलाई सहजीकरण गरी नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित राष्ट्रमा परिणत गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । राष्ट्रपति सीले तिब्बत हुँदै सीमाना बाँडफाँड गर्ने दुई देशले ‘ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क’ र अन्य ‘बेल्ट एण्ड रोड’ परियोजनामा प्रगति गरेको पनि दाबी गरेका छन् । यसबीच उनले पूर्वाधार कनेक्टिभिटी प्रवद्र्धन र पारवहन यातायात सहयोग विस्तार गर्न दुवै पक्षबाट पहल गर्न आग्रह नै गरेका छन् ।
पूर्वाधार सञ्जाल विस्तारमा सघाउने
चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा पूर्वाधार सञ्जाल र पारवहन यातायात सहयोगलाई सहजीकरण गर्ने बताएका छन् । नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भू-जडित राष्ट्रमा रूपान्तरण गर्न सघाउने उनको प्रतिबद्धता छ ।
उनले नेपाललाई भूपरिवेष्ठित देशबाट भू–जडित मुलुकमा चाँडोभन्दा चाँडो रूपान्तरण गर्न सहयोग र्पुयाउन पूर्वाधार कनेक्टिभिटी प्रवद्र्धन गर्न र पारवहन यातायात सहयोग विस्तार गर्न दुवै पक्षबाट प्रयास गर्न आग्रह गरे । ट्रान्स–हिमालय कनेक्टिभिटी परियोजनाहरूमा नेपाललाई तिब्बतसँग जोड्ने असहज हिमालय पहाडहरू हुँदै सडक र रेल जडान गर्ने समावेश छ ।
नेपालले चीनका सातवटा बन्दरगाहसम्म पहुँच स्थापित गर्न यातायात–पारवहन सम्झौतामा हस्ताक्षर गरिसकेको छ । बीआरआइअन्तर्गत पनि नौ परियोजना छनोट गरिसकेको छ । तर, यी अधिकांश परियोजनाको कामले हालसम्म गति लिएको छैन । प्रधानमन्त्री दाहालको भ्रमण क्रममा दुवै देशले नेपालमा चिनियाँ लगानी बढाउन विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा छ ।
चिनियाँ चासोलाई सम्मान गर्न आग्रह
चिनियाँ राष्ट्रपति सीले दुई पक्षले एकअर्काको मुख्य चासो र प्रमुख चासोका विषयहरूमा सधैं एकअर्कालाई बुझनुपर्ने र समर्थन गर्नुपर्ने पनि बताएका छन् । ‘द्विपक्षीय सम्बन्धको राजनीतिक आधारलाई निरन्तर सुदृढ तुल्याउनुपर्छ,’ सीले भनेका छन् ।
चीन र नेपालले ठूला र साना देशहरूबीच समान व्यवहार र दुबैले जित्नेगरी सहयोगको उदाहरण प्रस्तुत गरेको जनाउँदै उनले दुई देश राष्ट्रिय विकास र समृद्धिको मार्गमा एकअर्काका साझेदार र अवसरहरू भएको उल्लेख गरेका छन् ।
उनले चीनले नेपालसँग बहुपक्षीय समन्वयलाई सुदृढ गर्न, दुई देश र अन्य विकासशील देशहरूको साझा हितको रक्षा गर्न र मानवताको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवद्र्धन गर्न इच्छुक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस