ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले ४४औं साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन्। बिहिबार शंखमूलको यल दरबारमा पत्रकार सम्मेलन गर्दै उनले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा आफ्नो उम्मेवारी घोषणा गरेका हुन्।
आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमूलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुँदैछ। संघको महासचिव जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरिरहेका उनले समाज कल्याणका निम्ती अध्यक्ष पदमा दाबी गरेको बताए। डेढ दशकदेखि संघको विभिन्न पदमा रहेर उद्योग व्यवसायीहरुको समस्यामा साथ दिँदै आइरहेका मर्हजन ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत हुन्।
उनले भने, ‘समाजको सेवा गर्न र समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । विगतमा संघको विभिन्न पदमा रहेर उद्योगी साथीहरूसँग कुममाकुम मिलाएर साथ दिएँ। अगामी दिनहरू पनि यसैगरी उहाँहरूको हौसला बढाइरहने छु।’
साढे पाँच दशकको गौरवमय इतिहास बोकेको यस व्यवसायिक संगठनले वर्तमान चुनैतीहरुको सामना गर्दै सानादेखि ठूला सबै व्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदै आइरहेको छ। व्यवसायी मैत्री वातावरण निर्माणको नेतृत्व गर्न सक्ने सक्षम नेतृत्वको खोजी गरिरहेको संघलाई आफूले सम्हाल्ने सक्ने क्षमता भएको उनको विश्वास छ।
‘मलाई म लगायत मेरा साथीहरूमाथि पूर्ण विश्वास छ कि हामीले उद्योगीहरूको समस्या समाधान गरेर अगाडि बढ्ने छौं। विगतका दिनहरूमा हाम्रा मतदाताहरूले आफ्नो बहुमूल्य मत दिएर हामीलाई जिताउनुभएको थियो र, यस पटक पनि उहाँहरू विश्वास गरेर हामीलाई जिताउनुहुन्छ भन्ने कुरामा विश्वास छौं’, पत्रकार सम्मेलनमा उनले भनेका थिए।
प्रतिक्रिया दिनुहोस