aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पाँचौं देवी स्कन्दमाताको महत्व र पूजन विधी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
पाँचौं देवी स्कन्दमाताको महत्व र पूजन विधी

काठमाडौं । बडादशैँको पाचौँ दिन आज पाँचौं देवी स्कन्दमाताको पूजा गरी मनाईदै छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन्, जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । 

शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन् । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ ।
 
हामी जतिबेला सही एवं व्यवहारिक ज्ञानबाट लिप्त हुन्छौं त्यतिबेला हामीभित्र स्कन्द तत्वको उदय हुन्छ। देवी स्कन्दमाता पनि यही व्यवहारिक ज्ञानकी स्रोत हुन्। स्कन्द तत्व देवीको एउटा अर्को स्वरुप मात्र हो । कतिपय अवस्थामा हामीसँग ज्ञान त हुन्छ तर, त्यो ज्ञानको प्रयोजन वा क्रियात्मक प्रयोग भएको पाईंदैन ।

तर, कतै हामी सैद्धान्तिक ज्ञानको क्रियात्मक प्रयोग तत्कालै गरेको पाउँछौं । हामीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई जसरी व्यवहारमा उतार्ने गर्दछौं त्यहाँ पनि स्कन्द तत्व भेटिन्छ । धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन्। यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ। 

यिनको आराधना गर्दा सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ। त्यसपछि गंगा जलले सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ। चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ। त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ। वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमाता सहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ।
 

प्रतिक्रिया दिनुहोस